भदौ–१४, जिल्लामा सञ्चालित अधिकांश कार्यक्रम कागजमा मात्र सिमित रहेको कार्यक्रमका सहभागीहरुले आरोप लगाएका छन् । जिल्लाका सेवा प्रदायक सरकारी तथा गैंरसरकारी कार्यालयले आर्थिक वर्ष–२०७०÷०७१ मा सञ्चालन गरेका गतिविधि प्रस्तुतपछि सहभागीहरुले यस्तो आरोप लगाएका हुन् ।

उनीहरुले जिल्लाका जिम्मेवार सेवा प्रदायक सरकारी कार्यालयले नै कतिपय कार्यक्रमका लागि छुट्टिएको बजेट सम्बन्धित क्षेत्रमा नपु¥याइ कागजी प्रक्रिया मिलाएर प्रतिवेदन तयार गरेको बताएका छन् । कार्यक्रममा सहभागी नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य कुलप्रसाद शर्मा फुयाँलले सरकारी कार्यालयको यस्तो प्रवृत्तिले जनतामा उत्साह होइन निराशा छाएको बताउनुभयो । पूर्व सांसद समेत रहेका फुयाँलले भन्नुभयो, ‘जनताका काम गर्न खटिएका कर्मचारीले यस्तो व्यवहार गरेपछि कसरी विकास हुन्छ ?’

कार्यक्रममा एकीकृत नेकपा माओवादी खोटाङका सचिव तथा पूर्व सभाषद् दुर्गाजयन्ती राईले जिल्लामा सञ्चालित कार्यक्रमका बारेमा प्रभावकारी अनुगमन नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लामा ठूला–ठूला योजना सञ्चालन हुन्छ तर, योजना सम्पन्न गरेको केहीदिनमै बन्द हुन्छ ।’

एक दिनका लागि तय गरिएको समिक्षा गोष्ठीमा प्रस्तुत प्रतिवेदनमाथि सहभागीले तिब्र आलोचना गरेपछि गोष्ठी लम्बिएको छ । जिल्ला विकास समितिको समिक्षालय हलमा जारी जिल्लास्तरीय गोष्ठीमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकाय लगायतको उपस्थिति रहेको छ ।
शनिबार भएको गोष्ठीमा कृषि विकास कार्यालय, पशुसेवा, स्वास्थ्य, वन, भू–संरक्षण, सिंचाइँ, खाद्य संस्थान र गोर्खा वेलफेर सेन्टरले वर्षभरी गरेको गतिविधिको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । समय अभावका कारण अन्य कार्यालयले आफूले सञ्चालन गरेको गतिविधिको प्रगती प्रतिवेदन प्रस्तुत गर्न नपाएपछि एक दिनका लागि तय गरिएको समिक्षा गोष्ठी आइतबार पनि सञ्चालन हुने भएको छ ।