भदौ–१६, दिक्तेल नगरपालिका भित्रका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुलाई अब बैंकमार्फत भुक्तानी दिइने भएको छ । सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको तथ्यपूर्ण तथ्याङ्क आउने र सरकारी बजेट दुरुपयोग नहुनुका साथै सम्बन्धित व्यक्तिले पाउने भत्ता सजिलै पाउन सक्ने भएकाले यस्तो विधि अपनाइएको जनाइएको छ ।
यसका लागि सामाजिक सुरक्षा भत्ता पाउने नगरपालिका भित्रका वृद्धवृद्धा, एकल महिला, विधवा, पूर्ण अपाङ्ग र आंशिक अपाङ्गता भएका व्यक्तिहरुले दिक्तेलस्थित सेन्चुरी कर्मसिएल बैंकमा खाता खोल्नुपर्ने सामाजिक सुरक्षा समितिका संयोजक तथा स्थानीय विकास अधिकारी युवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो राज्यकै नीति हो, बैंकिङ सुविधा सबै ठाउँमा नभएकाले नगरपालिकामा मात्र लागु गरिएको छ ।’
दिक्तेल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिक सात सय ६०, एकल महिला ४५, विधवा दुई सय ४५, पूर्ण अपाङ्ग १९ जना र आंशिक अपाङ्ग १३ जना रहेको नगरपालिकाकाले जनाएको छ । सरकारको यो नीति पनि प्रभावकारी नभएको सरोकारवालाहरुको भनाइ छ । उनीहरु भन्छन्, ‘भ्रष्टाचार रोक्ने नाममा वृद्धवृद्धा तथा अशक्तलाई दुःख दिने काम भएको छ ।’