भदौ–२२, दिक्तेलमा भएको निवन्ध लेखन प्रतियोगितामा सरस्वति उच्च मावि दिक्तेलकी छात्रा पुष्पा गजमेर पहिलो हुनुभएको छ । आफ्ना १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै कक्षा–१० मा अध्ययनरत छात्रा गजमेर पहिलो हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको निवन्ध लेखन प्रतियोगितामा माउण्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेलका छात्र शैलेन्द्र कटवाल दोश्रो तथा सरस्वति उच्च मावि दिक्तेलकै छात्रा कृतिका दाहाल तेश्रो हुनुभएको छ । प्रतियोगितामा विजयीहरुलाई प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले क्रमशः नगद तीन हजार, दुई हजार र एक हजारको साथमा प्रमाणपत्र प्रदान गर्नुभएको छ । 
नेपाल प्रहरीको राष्ट्रिय कार्यक्रम अन्तरगत जिल्लामा निवन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नागरिक र प्रहरीबीचको दूरी घटाउँदै समाज रुपान्तरणमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।’
“राष्ट्रको समृद्धिको लागि शान्ति सुरक्षाको अपरिहार्यता” विषयक निवन्ध लेखन प्रतियोगितामा जिल्लाका पाँच विद्यालयका १४ जना विद्यार्थी सहभागी भएका थिए । गजमेर यसअघि भएको प्रतियोगितामा पनि पहिलो हुनुभएको थियो । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।