खोटाङ ३१ असार । प्रदेश नम्बर एकका प्रदेश सांसद रामकुमार राई (पासाङ) ले जनयुद्धमा शहादत प्राप्त दिलकाजी कार्कीलाई खोटाङको जनयुद्धको अभिभावकका रुपमा स्मरण गरेका छन् ।
‘दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान’ ले १७ औं स्मृति दिवसको अवसरमा आइतबार दिक्तेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै खोटाङमा राजनीतिक हिसाबले जनयुद्धको अभिभावक रहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका पासाङले दिलकाजी खोटाङको प्रभावशाली नेता रहेको र उनको योगदान उच्च रहेको भन्दै उनको सहादतले खोटाङ र खोटाङबासीमा अतुलनिय क्षति पुगेको समेत औंल्याए ।
पासाङले दिलकाजी लगायत महान योद्धाहरुको त्याग र बलिदानीले अहिलेसम्मको उपलब्धी प्राप्त भएको भन्दै शहिदहरुले देखेको सपना पूरा गर्नुपर्नेमा जोड दिए ।
नेता पासाङले रगतद्धारा निर्मित शहिदले देखेका कतिपय सपना अझै पूरा गर्न बाँकी रहेको भन्दै ती महत्वपूर्ण कार्यभार पूरा गर्ने प्रतिवद्धता समेत जनाए ।
दिलकाजी जनयुद्धको एक इमान्दार, निष्ठावान र मुक्तिका लागि संघर्षशिल खोटाङका नेता थिए । दिलकाजीको आजैका दिन ३१ असार २०५९ मा तत्कालिन शाही सेनाद्धारा हत्या भएको थियो । प्रत्यक्षदर्शी तथा खोटाङका माओवादी नेता कार्यकर्ताले तत्कालिन राज्य सेनाले सिमपानीबाट दिलकाजीलाई गिरफ्तार गरी हत्या गरेको दाबी गर्दै आएका छन् । सो समयमा दिलकाजीसँगै उनकी श्रीमती इन्दिरा कार्कीको समेत सँगै हत्या भएको थियो ।
यस वर्ष दिलकाजी र ठुलकुमारको नाममा स्मृति प्रतिष्ठान स्थापना गरिएको छ ।