भदौ–२४, दिक्तेल नगरपालिकाले नगरभित्रका भुस्याहा कुकुरलाई मार्ने निर्णय गरेको छ । बहुलाहा कुकुरको बिगबिगी बढेपछि सोमबार बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
बहुलाहाका कुकुरले नगरबासी तथा नगरभित्रका पशुचौपायालाई टोक्दै हिड्न थालेपछि भुस्याहा कुकुरलाई मार्ने निर्णय गरिएको नगर अधिकृत दीपक दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सोमबार मात्रै तीन जनालाई टोकेपछि नगरभित्रका भुस्याहा कुकुर मार्ने निर्णय गरिएको हो ।’ अन्दाधुन्द कुदिरहेको बहुलाहा कुकरले दिक्तेल नगरपालिकाका प्रमिल राई, कृष्णबहादुर श्रेष्ठ र त्रिवन राईलाई टोकेर घाइते बनाएका छन् । घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ ।
जिल्लामा आतंक फैलाउने बहुलाहा मात्र हैन भुस्याहा कुकुर समेत मार्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जति ढिला भयो, उति नै सर्वसाधारणमा आतंक फैलिने भएकाले तत्काल मार्न नगर अधिकृत तथा पशु हाकिमलाई निर्देशन दिएको हँु ।’
यसअघि सप्तेश्वर–२ का धनराज राई, सन्तोष राई, खार्मी–२ साब्रुका बसन्त गुरुङ र झरना गुरुङ घाइते भएका थिए । घाइते चारै जनाको जनसेवा सामुदायिक अस्पताल जालपामा उपचार भइरहेको अस्पतालका ईन्चार्ज गोपाल गुरुङले जानकारी दिनुभएको छ । सदरमुकाम दिक्तेलको हाटडाँडामै पनि बहुलाहा कुकुरले टोकेको एउटा भैंसीलाई बिहिबार गोली हानेर मारिएको थियो । स्थानीयका अनुसार बहुलाहा कुकुरको टोकाइबाट सप्तेश्वरमा एउटा भैंसी मरिसकेको छ ।
बहुलाहा कुकुर तथा स्यालदेखि शतर्क रहन जिल्लाबासीलाई आग्रह गरिएको जिल्ला पशुसेवा कार्यालय खोटाङका वरिष्ट पशु विकास अधिकृत हरिप्रसाद खनालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो घरमा पालिएका कुकुर तथा बिरालोलाई बाँधेर राख्न तथा रेबिजविरुद्धको खोप लगाउन पनि अनुरोध गरेका छौं ।’