भदौ–२६, जिल्लामा खाना पकाउने ग्याँस सकिएपछि ग्याँस उपभोक्ता मर्कामा परेका छन् । वर्षाका लागि भण्डारण गरिएका सबै कम्पनीका ग्याँस सकिएपछि ग्याँसका भरमा खाना पकाउने उपभोक्ता मर्कामा परेका हुन् ।
ग्याँस सकिएपछि विशेषगरी कोठा भाडामा लिएर सदरमुकाम बस्ने सर्वसाधारण मर्कामा परेका छन् । खाना पकाउने ग्याँस सकिएपछि कतिपय विद्यार्थी घर फर्किएका छन् । जिल्लामा भण्डारण गरिएको ग्याँस दुई हप्ताअघि सकिएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष खुसनारायण सैंजूले बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यापारीहरुले कृतिम अभाव गरेका हैनन्, तराईसँगको सिधा यातायात बिच्छेद भएकाले यस्तो भएको हो ।’
तराईसँगको सिधा यातायात विच्छेद हुनुअघि जिल्लामा खपत हुने ग्याँस भण्डारण गर्ने गरिएको छ । दुधकोसी र सुनकोसीमा लगाइएको अस्थायी ब्रेलीब्रिज झिक्नुअघि नै जिल्लामा खपत हुने दैनिक उपभोग्यवस्तु भण्डारण गर्ने गरिएको छ । व्यवासायिका अनुसार तराईसँगको सिधा यातायात नजोडिउन्जेल जिल्लामा ग्याँस भित्र्याउने अवस्था छैन । अध्यक्ष सैंजूले भन्नुभयो, ‘पुल बनाउन थालिएको यत्तिका वर्ष बित्यो, सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकार्षण गराउँदा समेत कुनै चासो दिएनँ ।’
जिल्लामा एक डिलर र अन्य सबडिलरमार्फत ग्याँस बिक्री गर्ने गरिएको छ । जिल्लामा नोवेल, कोसी, सुविधा लगायत सबै कम्पनीका ग्याँस खपत हुने गरेको छ ।