भदौ–२८, पाथेका हत्याकाण्डका अभियुक्त भनेर ३७ जना पक्राउ गरिएकामध्ये ३६ जनालाई धरौटीमा छाड्न पुनरावेदन अदालतले आदेश दिएको छ । जिल्लाको उत्तर पूर्वी गाविस पाथेका–४ का १८ वर्षीय एलिस भनिने अजय राईलाई कुटपिट गर्दा ज्यानै गएपछि पक्राउ परेका राजन गिरी लगायत ३७ जनामध्ये ३६ जनालाई जनही ५० हजार धरौटीमा छाड्न पुनरावेदन अदालत राजविराजले जिल्ला अदालत खोटाङलाई आदेश दिएको हो ।
गत फागुन–२४ गते लिखित निर्णयका साथ एलिसको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चन्दा माग्ने, भाला देखाएर ज्यान धम्की दिने, बिना कारण छिमेकीलाई कुटपिट गर्ने, गालीगलौज गर्दै हिड्ने लगायतका अत्याचार सहन नसकेर हात खुट्टा भाँच्ने लिखित निर्णय गरेर गाउँलेले कुटपिट गर्दा उनको घटना स्थलमै ज्यान गएको हो ।
घटना लगत्तै पक्राउ परेकामाथि सबैले हत्या गरेको हो या होइन भन्ने अनुसन्धान भइरहेको समयमा पुनरावेदन अदालतले राजन गिरी बाहेक अन्यलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत खोटाङका श्रेष्तेदार भीष्म भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पुनरावेदन अदालतको आदेश अनुसार जनही ५० हजार धरौटी बुझाउनासाथ ३६ जना छुट्नेछन् ।’
जिल्ला अदालत खोटाङका जिल्ला न्यायाधिस ईश्वरीप्रसाद गौतमको आदेशमा पुर्पक्षका लागि कारागारमा रहेका उनीहरुलाई धरौटीमा छाड्न पुनरावेदन अदालतका मुख्य न्यायाधिस ईशोर खतिवडाले बिहीबार आदेश दिनुभएको श्रेष्तेदार भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मानीय मुख्य न्यायाधिस ज्युले राजन गिरी बाहेक अन्यलाई जनही ५० हजार धरौटी लिएर सामान्य तारिखमा छाड्न आदेश दिनुभएको छ ।’
प्रहरीका अनुसार हत्याकाण्डमा करिब ६० जनाले हस्ताक्षर गरेकामध्ये ३७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो । पक्राउ नपरेकाहरूको हकमा पनि अनुसन्धान भइरहेको जनाइएपनि हालसम्म कुनै प्र्रक्रिया अघि बढेको छैन । प्रहरी स्रोतका अनुसार करिब ६० जनामध्ये धेरैजसोले हस्ताक्षर गरेका छन् । प्रहरी स्रोतले भन्यो, ‘कसैको नाम मात्र छ कसैले भने बकैदा हस्ताक्षरै गरेका छन् ।’
यो प्रकरणमा स्थानीय राजनीतिक दल, शिक्षक, समाजसेवी लगायत सम्लग्न देखिएका छन् । स्थानीय लालकन्या निमाविका प्रधानाध्यापक रुपमान तामाङ, संघीय समाजवादीका जिल्ला सदस्य अग्निप्रसाद राई, कांग्रेसका स्थानीय नेता गणेश गिरी लगायत पक्राउ परेका छन् ।
मृतक राई गत असार–११ गते लागु औषद गाँजा तथा चरेस सहित पक्राउ परेका थिए । पाथेकाबाटै पक्राउ परेका उनलाई जिल्ला अदालतको आदेशले ५० हजार धरौटीमा तीन महिना पछि पुस–९ गते छाडिएको थियो ।