भदौ–२८, खोटाङको धितुङस्थित सल्लेनी तारेभिर सामुदायिक वन उपभोक्त समूहले घरमा शौचालय नबनाएका परिवारलाई वन उपभोक्ताबाट हटाउने निर्णय गरेको छ । सन् २०१६ भित्र जिल्लालाई खुला दिशा मुक्त बनाउने अभियानलाई सहयोग गर्ने उद्देश्यका साथ वन उपभोक्ता समूहले यस्तो निर्णय गरिएको हो ।
बहुुसरोकारवाला वन कार्यक्रम अन्तर्गत सामुदायिक वनको विधान तथा कार्ययोजना नविकरणका लागि नवयुवा फुलपाति सेवा समाज पाथेकाले आयोजना गरेको भेलामा यस्तो निर्णय गरिएको समूहका अध्यक्ष नवराज बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ उपभोक्ता बन्नका लागि पनि घरमा अनिवार्य शौचालय बनाउनुपर्ने छ ।’
सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत गाविसमा शौचालय निर्माणको काम भइरहेको समूहका सचिव ईन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार खुला दिशामुक्त गाविस बनाउन उपभोक्ताहरुको घरमा स्थलगत निरीक्षण गरेर शौचालय निर्माणममा सहयोग गर्ने पनि निर्णय भएको छ ।