उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । गाउँमा भएको विवाह भोजमा भान्छा छोएको भन्दै खार्मी–४ का २८ वर्षीय राजन दाहाल लगायतका चार जनाको समुहले श्रेष्ठमाथि बञ्चरो प्रहार गरेका थिए ।
विवाहको छुट्टा–छुट्टै भतेरको भान्छा छोएको भन्दै उनीहरुले बञ्चरो प्रहार गर्दा २३ वर्षीय श्रेष्ठ गम्भिर घाइते भएका थिए । बञ्चरो प्रहारबाट पिठ्यू र दायाँ पाखुरामा गहिरो चोट लागेर घाइते श्रेष्ठको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि हेलीकोप्टरमार्फत काठमाडौं लगिएको थियो । काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार गराएका श्रेष्ठको अवस्था समान्य बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ ।
खार्मी–४ का टंक बुढाथोकीको विवाहमा बुढाथोकी समुदायको लागि तयार गरिएको भान्छा छोएको आरोपमा श्रेष्ठलाई बञ्चरो प्रहार भएको घाइतेका काका शुक्र श्रेष्ठको भनाइ छ ।
गाउँघरमा हुने भोजका समयमा अझै पनि हरेक जातका समुदायका लागि अलग–अलग भान्छा कोठा बनाउने प्रचलन छ ।
श्रेष्ठमाथि बञ्चरो प्रहार गर्ने राजन दाहाल लगायत चार जनाबिरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा ज्यान मार्ने मुद्दा दर्ता भएको छ । घटनाका मुख्य दोषी भनिइएका राजन दाहालसहित दुई जनाको पनि खोजी भइरहेको मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो ।