असोज–१, पहिचान सहितको संघीय संविधान निर्माणमा दवाव दिन उद्देश्यले खोटाङमा संघीय गणतान्त्रिक मोर्चा गठन भएको छ । एकीकृत नेकपा माओवादी खोटाङका जिल्ला अध्यक्ष देवान किराती ‘पृथ्वी’ को संयोजकत्वमा ११ सदस्यीय समिति रहेको मोर्चा गठन गरिएको हो । 
पहिचान पक्षधर दलका प्रमुख तथा प्रतिनिधि सम्मिलित मोर्चाले पहिचान सहितको संघीय संविधान निर्माणमा दवाव दिने समितिका सदस्य तथा एकीकृत नेकपा माओवादी खोटाङका जिल्ला सचिव दुर्गाजयन्ती राईले जानकारी दिनुभयो । पूर्व सभाषद समेत रहनुभएकी राईले भन्नुभयो, ‘मोर्चाले पहिचान, संघीयता र राज्यको पुर्नसंरचना विषय अन्तरक्रिया, गोष्ठी, आमसभा लगायतका दवावमूलक कार्यक्रम गर्ने छ ।’ 
बुधबार गठन भएको मोर्चाले आगामी असोज–६ गते खोटाङको सदरमुकाम दिक्तेलमा ‘संघीय गणतान्त्रिक मोर्चाको आवश्यकता, संघीयता र पहिचानसहितको संविधान निर्माणमा हाम्रो भूमिका विषयक’ अन्तरक्रिया गोष्ठीको आयोजना गर्ने जनाएको छ । सत्ता साझेदार दलहरु पुरानै संविधान जारी गर्ने तयारीमा लागेकाले पहिचान सहितको संविधान निर्माणमा साझा धारणा बनाउन अन्तरक्रिया गोष्ठीको आयोजना गरिएको संयोजक राईले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीले दिएको सुझाव संविधानसभामा लगेर पेश गर्ने मोर्चाले जनाएको छ ।