असोज–२, बहुला कुकुरको टोकाइबाट खोटाङमा थप चार जना घाइते भएका छन् । मात्तिम–७ का डिकबहादुर राईले पालेको कुकुरको टोकाइबाट सोही गाविसको वडा नम्बर–९ का ५५ वर्षीय गडुलध्वज खड्का, १४ वर्षीया रोजिना चौलागाई, २४ वर्षीया चन्द्रकला परियार र ११ वर्षीया कमला विष्ट घाइते भएका हुन् । 
बहुलाएर जथाभावी हिँडिरहेका कुकुरले उनीहरुलाई बिहीबार दिउसो टोकेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार कुकुरको टोकाइबाट घाइते बनेका चारै जनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । हिँडीरहेका मान्छेलाई जथाभावी टोक्दै हिँड्ने कुकुरलाई स्थानीयले नियन्त्रणमा लिएर बिहीबार नै मारेको प्रहरीले जनाएको छ । यसअघि बहुला कुकुरको टोकाइबाट जिल्लाका विभिन्न ठाउँमागरी सात जना घाइते भएका थिए ।
स्थानीयका अनुसार बहुला कुकुरको टोकाइबाट सप्तेश्वरमा एउटा भैंसी मरेको छ, भने सदरमुकाम दिक्तेलको हाटडाँडामा बहुला कुकुरले टोकेको एउटा भैंसीलाई गोली हानेर मारिएको छ । कुकुरको टोकाइबाट लाग्ने रेबिज रोग लाग्नबाट सर्वसाधारणको बचाउका लागि दिक्तेल नगरपालिकाले भदौ–२४ गतेदेखि कुकुर मार्ने अभियान थाल्ने जनाइएपनि हालसम्म कार्यान्यन भएको छैन् । बहुला कुकुरको आतंक फैलिएपछि नगरपालिकाको समन्वयमा सर्वपक्षीय बैठक बसेर नगरभित्रका भुस्याहा कुकुर मार्ने निर्णय भएको थियो ।