असोज–४, जिल्लाका तीन श्रष्टाको सांगीतिक र साहित्यिक कृति बजारमा आएको छ । सप्तेश्वरका भीमसेना राईको एकल संगीत रहेको एल्बम ‘बेस क्याम्प’, दोर्पाचिउरीडाँडाका सागर राईको स्वर रहेको म्यूजिक भिडियो ‘सम्झौता’ र बतासेका नमन अणुको गजल संग्रह ‘नमन’ एकैसाथ बजारमा आएको हो ।
एल्बम ‘बेस क्याम्प’ र म्यूजिक भिडियो ‘सम्झौता’मा अधिकांश शव्द, संगीत र स्वर पनि खोटाङकै कलाकारहरुको समेटिएका छन् । प्रायः ‘गाउँमै बसेर सांगीतिक सिर्जनामा लागेको’ पहिचान बनाएका भीमसेनाको दश गीत समेटिएको बेस क्याम्प पहिलो एल्बम हो ।
अगल आर्ट हब्र्सले बजारमा ल्याएको बेस क्याम्पमा खोटाङका गायक÷गायीकाहरु राजेश पायल राई, पार्वती राई, राई नबीन, सरला राई, कला राई, नबिन राई, रेवत राई, जानुका राई, मेलिना राई, सागर संसार राई, प्रदीपहाङ राईको स्वर सुन्न सकिन्छ । बेस क्याम्पमा नाकिमा नाकिम, भोगेन एक्ले, नदिश, स्वप्नील स्मृति, नविन संघर्ष, जीवन राई ज्वालाको शब्द समेटिएका छन् ।
प्रायः जिल्लामा आयोजना गरिने हरेक साँस्कृतिक कार्यक्रममार्फत दर्शक श्रोताको मन जित्दैआएका भीमसेना राईले पहिलो एल्बममार्फत अन्य संगीत प्रेमीको मन जित्ने आशा लिएको बताउनुभयो । हाल राजधानीमा रहेका राईले भन्नुभयो, ‘गाउँमा बसेर संगीतको राग अलाप्दै आधा जीवन बिताइयो, अहिलेसम्म श्रोताको प्रतिक्रिया पनि राम्रै पाइरहेको छु ।’
यस्तै, जिल्लाबाट सांगीतिक भविष्य खोज्दै केही वर्षअघि राजधानी छिरेका सागर र कमल थापाको संयुक्त म्यूजिक भिडियो हो सम्झौता । सागरको स्वरमा पाँच वटा गीत समेटिएको म्यूजिक भिडियोमा दिक्पाल राई, गोपालचन्द्र राई र कमल थापाको शब्द तथा डक्टर किरात, सुमन राई र स्वयं राईको संगीत छ ।
जनक राई, मोनी ताम्लिङ र रोशन चाम्लिङले निर्देशन गरेको सो म्यूजिक भिडियोमा सिजन राई, सन्ध्या राई, निर्बिक राई, रञ्जिता सुब्बा, सरिता राई, सेरप विष्ट लगायतले अभिनय गरेका छन् । सांगीतिक उन्नतीका लागि दिक्तेलको बसाई छाडेर राजधानी छिरेका सागर एलम्बर संगीत २०७० को बिजेता तथा सुम्निमा आइडल पनि हुन् ।
बतासे–१ का नमनले गजल संग्रह ‘नमन’मार्फत नेपाली गजल क्षेत्रमा पदार्पण गरेका हुन् । चिन्डो बुक्स किरात राई लेखक संघले प्रकाशन गरेको उनको गजल संग्रहमा ४७ गजल समेटिएका छन् ।