असोज–५ । अवरुद्ध खानीडाँडा विमानस्थलमा उडान सुचारु गराउन पर्यटन तथा नागरिक उड्यनमन्त्री समक्ष खोटाङबासीले माग गरेका छन् ।

सभाषद पिके राईको नेतृत्वमा गएको टोलीले पर्यटन तथा नागरिक उड्यानमन्त्री दीपक अमात्यलाई भेटगरी तीन महिनादेखि अवरुद्ध विमानस्थलमा उडान सुचारु गराउन माग गरेका हुन् ।

सदरमुकामबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा बिमानस्थलमा वर्षाका कारण गत असार दोश्रो सातादेखि सरकारी तथा निजी बायु सेवा कम्पनीको सबै प्रकारका उडान बन्द छ । अहिले झरी वर्षा रोकिएको र उडानका लागि धावनमार्गमा बाधा नभएका कारण खानीडाँडामा दशैं र तिहारलाई लक्ष्यी गरी उडान सुचारु गराउन माग गरिएको एमाले खोटाङ क्षेत्र नम्बर–१ का अध्यक्ष सुरेन्द्र राईले बताउनुभयो ।

मन्त्री अमात्यले हप्ता दिनभित्र खानीडाँडामा उडान सुचारु गर्नका लागि पहल गर्ने आश्वसन दिएको टोलीले जनाएको छ । अवरुद्ध बिमानस्थलमा तत्काल उडान सुचारु गरिए दशैं र तिहार मनाउन राजधानीबाट खोटाङ जाने आउने सर्वसाधारण लाभान्बित हुने सभाषद राईले बताउनुभयो ।

लगातारको वर्षाका कारण धावनमार्गमा खाल्डाखुल्डी र हिलाम्मे बनेको भन्दै नेपाल वायु सेवा निगम र तारा एयरलाइन्सले खानीडाँडामा ‘मनसुनी फ्लाइट’ बन्द गरेको थियो । हालसम्म कालोपत्रे नभएको बिमानस्थलमा हिलोका कारण हवाइजहाजको पांग्रा भासिने खतरा बढेपछि हरेक वर्षा याममा उडान बन्द हुने गरेको निगमका खानीडाँडा स्टेशन इन्चार्ज यादवसेन राईले बताउनुभयो ।

जिल्लाका थामखर्क, लामीडाँडा सहित तीन वटा बिमानस्थलहरुमध्ये खानीडाँडा विमानस्थल सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्छ । सदरमुकामबाट छोटो दुरीमा रहेको खानीडाँडा विमानस्थलमा उडान बन्द हुँदा सर्वसाधारण मारमा परेका छन् ।