असोज ८ । हलेसी मन्दिर क्षेत्रमा रहेको जग्गा रोक्का गरिएको छ । स्थानीयले अतिक्रमण र किनबेच गरेको उजुरी परेपछि गुठी संस्थानको आदेशमा जिल्ला मालपोत कार्यालय खोटाङले मन्दिर क्षेत्रभित्र पर्ने जग्गा रोक्का गरेको हो ।
गुठी संस्थानको आदेश अनुसार मन्दिर क्षेत्रभित्र पर्ने हलेसीमहादेव मन्दिरको कित्ता नम्बर–३२, ५०, ५२, ७०, ७२, ८८, ८९, ९०, १७३, ३५१, ३७१, ३७९, २६८, ३७८, ३८३, ७९८, ८०१, ३७३, १०५७, १०५८, २८२, २८३, ९८४, ९९५, १८८, २२५, २९७, १०४६, ८०० र ३६८ जग्गा रोक्का गरिएको मालापोत अधिकृत विनोद गेलालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यी कित्ताहरुबाट कित्ताकाँटगरी करिब ५० कित्ता जग्गा किनबेच भएको पाइयो, गुठी संस्थानको आदेश अनुसार त्यो पनि स्वतः खारेज भएको छ ।’
हलेश्वर महादेव गुठी अन्तरगत पर्ने विभिन्न गुठी तैनाथी जग्गाहरु व्यक्ति विशेषले अफ्नो नाममा दर्ता गरे–गराएको पाइएकाले ती जग्गाहरु संस्थानले बदरगरी गुठी तैनाथी कायम गर्नेतर्फ कारबाही गरिरहेको हुँदा ती जग्गाहरु बिक्री बितरण र धितोबन्दक राख्न नपाउनेगरी अर्को आदेश नभएसम्म रोक्का राखी संस्थानलाई जानकारी गराउन भन्दै गुठी संस्थानले मालपोतलाई पत्र लेखेको छ । गुठी संस्थान ऐनमा गुठीको जग्गा आवश्यक पर्दा प्रक्रिया पु¥याएर लिन पाउने प्रावधान छ ।
हलेसी विकास समितिका निर्देशक तामन राईका अनुसार बेठीबारी, भैरवपोखरी र फूलबारी क्षेत्रमा पर्ने जग्गा रोक्का भएको हो । निर्देशक राई भन्नुहुन्छ, ‘नापी टोली खटिएका समयमा महन्तहरुले आफ्नो नाममा मन्दिरको जग्गा दर्ता गरे, त्यसपछि किनबेचको प्रक्रिया थालिएको हो ।’
मन्दिर परिसरमा बसोबास गर्ने स्थानीयबासीलाई सरकारले २०४२ सालमा मुआब्जा दिइसकेकाले उनीहरुलाई प्रहरी लगाएर हटाउनुपर्ने राप्रपा नेपाल खोटाङका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गुरु योजना बनाउनेक्रममा त्यस क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई मुआब्जा दिएर हटाइएको थियो, उनीहरुकै मिलेमतोमा उक्त गुरु योजना समेत गायब गरिएको छ ।’
राजा विरेन्द्रको भ्रमण भएको समयमा त्यहाँस्थित तत्कालीन महेन्द्रोद्धय माविलाई जग्गा दिन आदेश भएपछि उक्त जग्गा लागत कट्टा नगरी मालपोत कार्यालयबाट फुकुवा गरिएकाले समस्या आएको निर्देशक राईको भनाइ छ । राईका अनुसार हलेसी विकास समितिका तत्कालीन अध्यक्ष नारायणसिं राई, निर्देशक देवराज कार्की र गाविस अध्यक्ष कुम्भराज राई लगायत पदाधिकारी रकेको समयमा रोक्का जग्गा फुकुवा गरिएको हो ।
त्यसपछि नियमित रुपमा मन्दिरको जग्गा अतिक्रमण हुनेक्रम बढेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार मन्दिर आसपासमा घर तथा सडक निर्माणले पनि गुठीको जग्गा अतिक्रमण भएको हो ।
विभिन्न क्षेत्रबाट अतिक्रमणमा परेको हलेसीको विकासका लागि गत जेठ–१० गते जिल्ला प्रशासनमा बसेको सर्वपक्षीय भेलाले सम्बन्धित क्षेत्रमा पहल गर्ने निर्णय गरेको थियो । यसका लागि मालपोत अधिकृत विनोद गेलालको संयोजकत्वमा अध्ययन समिति बनेको छ ।
समितिले हलेसी मन्दिरको जग्गा यकिन गरेको छ । समितिका अनुसार मन्दिरको जग्गा अब २६ रोपनी मात्र कायम रहेको जनाइएको छ ।