हलेसी तुवाचुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ६४ करोड ५८ लाख २७ हजार ४५० रुपैयाँ बजेट ल्याएको छ । नगरपालिकाको एघारौं नगर सभामा नगर उपप्रमुख रमेशकुमार राउतले बजेट प्रस्तुत गर्दै बजेट तथा कार्यक्रम सार्वजनिक गरे ।

कुल बजेट मध्येमा २५ प्रतिशत प्रशासनिक खर्च, पूर्वाधार विकास समितिमा ३७.१ प्रतिशत, सामाजिक विकासमा २१.७७ प्रतिशत, आर्थिक विकास समितिमा ९.९० प्रतिशत, वन, वातावरण विपद, फोहोर मैल व्यवस्थापनमा १.१७ र सार्वजनिक सेवा तथा सुशासनका लागि ४.८ प्रतिशत बजेट छुट्याइएको छ ।

नेपाल सरकारको सशर्त अनुदान ३४ करोड २३ लाख, संघीय सरकार समानीकरण अनुदान ११ करोड ९३ लाख, संघीय सरकार समपुरक अनुदान १ करोड ३० लाख, प्रदेश नं. १ सरकार सशर्त अनुदान १८ लाख ३७ हजार, समानीकरण अनुदान ६४ लाख ८ हजार वजेट प्राप्त भएको छ।

संघीय सरकारवाट प्राप्त हुने राजश्व बाँडफाडबाट ११ करोड ४९ लाख ९८ हजार, प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाडबाट १ करोड ५४ लाख ८४ हजार ४५० र प्रदेश समपुरकमा १ करोड वजेट आएको छ।