असोज ८ ।  मादक पदार्थको बढ्दो प्रयोगलाई नियन्त्रण गर्न खोटाङको च्यास्मिटारका स्थानीय युवा समुहले जाँड रक्सी बेचबिखन तथा सेवनमा रोक लगाएको छ । आफ्नो गाउँलाई मदिरा निषेधित क्षेत्र बनाउने उद्देश्य सहित सृजनात्मक एकता युवा समुहले जाँड रक्सी बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको हो ।

जाँडरक्सीको अधिक प्रयोगबाट हुने व्यक्तिगत तथा सामाजिक हानीनोक्सानीबाट सबैको बचाउ गर्दै गाउँमा कुलत तथा दुव्र्यसनी न्यूनीकरण गर्नका लागि मादक पदार्थ बिक्री बितरण तथा सेवनमा रोक लगाइएको समुहले जनाएको छ । बुधबार बसेको युवा समुहको बैठकले सिमाना तोकेर दाल्फु क्षेत्रभित्र जाँड रक्सी बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको समुहका अध्यक्ष रसकुमार राईले जानकारी दिनुभयो ।

गाविसका राजनैतिक दल, गाविस, प्रहरी चौकी, स्वास्थ्य चौकी, संघसंस्था, विद्यालय लगायतको समर्थनमा युवा समुहले सार्वजनिक सूचना टाँस गरी मादक पदार्थको उत्पादन तथा सेवन नगर्न आग्रह गरेको छ । एउटा गाउँबाट थालिएको अभियानलाई क्रमशः अन्य गाउँमा बिस्तार गरिने समुहका सचिव खबिराज राईले बताउनुभयो ।

गाउँमा खुलेआम बिक्रीबितरण हुने जाँडरक्सीका कारण समाजमा झै–झगडा, हो–हल्ला तथा सामाजिक बिकृति फैलिन थालेपछि त्यसलाई रोकथाम गर्न गाउँमा मादक पदार्थ निषेध अभियान थालिएको युवा समुहले बताएको छ । आफ्नो अभियानलाई बेवास्ता गर्ने व्यक्तीलाई आर्थिक र सामाजिक बहिस्कार गरिने अध्यक्ष राईको भनाइ छ ।

यसैबीच, युवा समुहले मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–जयराम सडक अन्तरगत च्यास्मिटार क्षेत्रको खण्डमा यातायातका सवारी साधनको गति कम गर्न अभियान थालेको छ । च्यास्मिटार उच्च माविमा अध्ययन गर्ने विद्यार्थी आवत–जावत गर्ने प्रहरीचौकी च्यास्मिटारदेखि बाहुनीडाँडाको बयाक्तासम्मको सडक खण्डमा सवारी साधनको गति कम गर्न समुहले सडकमै बसेर अभियान चलाएको हो ।

सवारी साधनको ठक्करबाट हुने सडक दुर्घटना न्यूनीकरणका लागि समुहले विद्यार्थी आवत जावत गर्ने समयभित्र सो सडक खण्डमा गति कम गरेर सवारी साधन चलाउन आग्रह गर्दै यातायात व्यवसायी र चालकलाई भेटघाट सुरु गरेको छ । केही समयअघि जीपको ठक्करबाट च्यास्मिटार–२ का एक छात्रको ज्यान गएपछि सवारी साधनको गतिमा कडाई गरिएको समुहका अध्यक्ष राईले जानकारी दिनुभयो ।

समुहले मदिरा सेवन गरेर सवारी साधन चलाउने चाकललाई कारबाही गर्ने चेतावनी दिएको छ ।