
असोज–९, आउँदै गरेको दशैं तथा तिहारको अवसरमा खोटाङको च्यास्मिटारका युवा समुहले बाटो मर्मत तथा सरसफाई गरेका छन् । दशैं तिहारको समयमा भेटघाट गर्न आउने टाढा–टाढाका पाहुनापाछाको आवत जावतमा सहजता ल्याउनका लागि सृर्जनात्मक एकता युवा समुहले जनश्रमदानबाट गाउँको गोरेटो बाटो मर्मत तथा सरसफाई गरेका हुन् ।
युवा समुहको अगुवाई तथा सबै घरका स्थानीयको संलग्नतामा दाल्फुको देविस्थानदेखि खुच्यापुसम्मको बाटो मर्मत तथा सरसफाई गरिएको सृर्जनात्मक एकता युवा समुहका अध्यक्ष रसकुमार राईले बताउनुभयो । बाटो मर्मत तथा सरसफाईका लागि गाउँका हरेक घरका स्थानीय कुटो, कोदालो, ह्याम्मर, गैंती, झम्पाल लगायतका घरेलु सामग्री सहित भेला भएका थिए ।
दशैं तथा तिहारको बेला आउने पाहुनापाछाको हिँड्डुल तथा गाउँको सुन्दरताका लागि बाटो मर्मत तथा सरसफाई गरिएको समुहले जनाएको छ । समुहले हरेक वर्ष गाउँको बाटोघाटो सरसफाई गर्दै दशैं तिहारको स्वागत गर्ने बताएको छ ।