असोज–१०, शव परीक्षण गर्दा प्रहरी र स्वीपरले अवैध रकम असुली गर्ने गरेको समाचार बाहिर आएपछि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । प्रहरी र शव चिरफार गर्ने स्वीपरको मिलेमतोमा शव परीक्षण गर्दा अवैध रकम असुली गर्ने गरेको समाचार बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले रोक लगाएको हो ।
शव परीक्षण गर्दा मृतकको आफन्तबाट रकम लिन पाउने प्रावधान नभएकाले रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अवैध रकम असुली गरेको समाचार बाहिर आउनासाथ डिएसपी र डाक्टरलाई फोन गरेर तत्काल रोक्न र असुलीमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छु ।’
जिल्ला अस्पतालमा खटिएका प्रहरी र स्वीपरले एउटा शव परीक्षण गरेबापत दुईदेखि पाँच हजार रुपैयाँसम्म रकम असुली गर्ने गरेको पाइएको थियो । उनीहरुले मागेको जति रकम नदिए कामै रोकिने भएपछि बाध्य भएर भनेजति नै दिएको सेवाग्राहीको भनाइ छ । 
सेवाग्राहीका अनुसार उनीहरुले सामान्य अवस्थाको शव परीक्षण गर्दा दुई तथा सडिएको शवका लागि पाँच हजार रुपैयाँ लिने गरेका थिए । प्रहरी आफैले मागेपछि दिनैपर्ने होला भनेर दिएको सेवाग्राहीले बताएका छन् ।
जिल्लामा यस वर्षमा मात्रै ७६ जनाको शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो । यादवका अनुसार यसबाहेक केहीको छिमेकी जिल्ला सोलुखुम्बु, भोजपुर, उदयपुर र ओखलढुङ्गामा गरिएको छ ।