असोज–११ । बहुविवाह गर्ने खोटाङका एक जोडी धरौटीमा छुटेका छन् । दिक्तेल नगरपालिका–१० का २२ वर्षीय सुमन राई र सोही नगरपालिकाको वडा नम्बर–१४ की १८ वर्षीया युबिना राई जनही ४०÷४० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।
जेठी श्रीमतीले आफूलाई खानलाउन नदिएको, मानसिक तथा शारीरिक यातना दिएको र बच्चाको समेत बेवास्ता गरेकाले कारबाही गरीपाउँ भन्दै उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित महिलाले दिएको उजुरीको आधारमा उनीहरुलाई साउन–१ गते घरैबाट पक्राउ गरिएको थियो ।
जेठी श्रीमतीले पाउने अंशको पनि व्यवस्था गरिदिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार छ वर्षअघि विवाह गरेका राईले जेठी श्रीमतीलाई पटक–पटक शारीरिक यातना दिने गरेको पाइएको छ ।
राईको जेठी श्रीमतीपट्टी एक छोरा र एक छोरी छन् । उनीहरु आमासँगै रहेको प्रहरीले जनाएको छ ।