असोज २४ । दुई हप्ता बित्न लाग्दा पनि चार वटा अभियोग लागेका एक युवा अझै पक्राउ परेका छैनन् ।

गुण्डागर्दी गर्दै हिड्ने खोटाङको दोर्पाचिउरीडाँडा–५ घर भएका युवा संघ नेपालका केन्द्रीय सदस्य दिलचक्र भनिने दिलकुमार राईविरुद्ध असोज १३ मा चारवटा मुद्दा दर्ता भएको थियो ।


 उनले एकै दिन गत भदौ–१७ गते फरक–फरक ठाउँमा चार जनामाथि गालीगलौज तथा कुटपिट गरेका थिए । कुपिटमा संलग्न उनी लगायत अन्य पाँच जना विरुद्ध फरक–फरक व्यक्तिले दिएको चारवटा सार्वजनिक मुद्दा दर्ता गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो

दिलचक्र लगायतका व्यक्तिले बिना कारण आफूलाई गालीगलौज गर्दै निर्घात कुटपिट गरेको भन्दै नेर्पा–८ का धनप्रसाद बास्तोला, बाँझेच्यानडाँडा–१ घर भएका सडक बिभागका सव–ईन्जिनियर प्रदिप राई, भोजपुरका डम्बरबहादुर विश्वकर्मा र नेर्पा–८ का दिलबहादुर विश्वकर्माले आफ्नो ज्यान सुरक्षा तथा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै उजुरी दिएका थिए । भदौ–२५ गते परेको धनप्रसाद बास्तोलाको जाहेरीले दिलकुमार राई, जोशीचन्द्र राई, नविन गुरुङ, भीमबहादुर गुरुङ र रामबहादुर गुरुङ, असोज–७ गते परेको प्रदिप राईको जाहेरीले दिलकुमार राई र मोतिराज राई, असोज–६ गते परेको डम्बरबहादुर विश्वकर्माको जाहेरीले दिलकुमार राई, भीमबहादुर राई र रामबहादुर राई तथा असोज–७ गते परेको दिलबहादुर विश्वकर्माको जाहेरीले दिलकुमार राई, भीमबहादुर गुरुङ र रामबहादुर गुरुङविरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको थियो ।


गुण्डागर्दी शैलीमा जसलाई पायो उसलाई कुटपिट गर्दै उनीहरुमध्ये गम्भीर घाइते बनेका सव–ईन्जिनियर राईसहित चारै जनाको जिल्ला अस्पताल खोटाङमा  उपचार गरिएको थियो ।

एमाले जिल्ला कमिटि सदस्य समेत रहेका राईले यसअघि पनि एक कार्यालय प्रमुखलाई आफ्नै गेष्ट हाउसमा लगेर निर्घात कुटपिट गरेका थिए । योजनाको काम नगरी निकासा माग्दा नदिएपछि पूर्वाञ्चल सव–डिभिजन कार्यालय खोटाङका प्रमुख एकराज भट्टराईलाई आफ्नै गेष्ट हाउसमा लगेर निर्घात कुटपिट गरेका थिए ।


३ भदौ २०७० मा कार्यालय प्रमुखहरुको बैठकमा गएर फर्किएका भट्टराईमाथि कुटपिट गर्नमा संलग्न उनीलगायत अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेपनि एमाले नेताहरुको दबाबमा छाडिएको थियो । एमालेका तत्कालीन जिल्ला अध्यक्ष विशाल भट्टराई, अञ्चल कमिटि सदस्य पिके राई लगायतको दबाबमा तत्कालीन प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले निर्घात कुटिइएका कार्यालय प्रमुख भट्टराईलाई उल्टै माफी मगाएका थिए । 

यसरी राजनीतिक संरक्षणमा बस्दै आएका राई हाल काठमाडौंमा रहेको स्रोतको दावी छ । विभिन्न घटनामा संलग्न हुँदै आएका राई नेताहरुकै संरक्षणका कारण काठमाडौंमा खुलेआम हिँडिरहेका छन् ।

उनी विरुद्ध मुद्दा परेपछि प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटालाई अन्यत्र सरुवा गर्न माग गर्दै गृहमन्त्रालयमा डेलीगेशन समेत गएको स्रोतको दावी छ । स्रोतका अनुसार प्रशासनमा सार्वजनिक मुद्दा दर्ता भएलगत्तै भागेर काठमाडौं पुगेका दिलकुमारलाई संरक्षण गर्न सभाषद विशाल भट्टराईको नेतृत्वमा गृहमन्त्री समक्ष डेलीगेशन गएको हो ।