असोज २६ । जिल्लाका व्यवसायीहरुले एमआरपी फारम भर्दा चर्को शुल्क लिने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । जिल्लामा फोटो तथा फोटोकपी व्यवसाय गर्दै आएका व्यवसायीले विभिन्न बहानामा आफूहरुबाट चर्को शुल्क लिने गरेको उनीहरुले गुनासो गरेका हुन् ।
वैदेशिक रोजगारीको सिलसिलामा विदेश जान चाहँने युवायुवतीबाट एक प्रति मेशिन रिडेबल पासवर्ड (एमआरपी) फारम भरेबापत चार सयदेखि सात सय रुपैयाँसम्म लिने गरेको सेवाग्राहीले बताएका छन् । उनीहरुका अनुसार कतिपय ठाउँमा भरेको फारम तीन/चार पटकसम्म फिर्ता हुने गरेको छ ।
रोशिष साईवर एण्ड फोटोकपी सेन्टरले सदरमुकाममा सञ्चालित व्यवसायीले सबैभन्दा बढि शुल्क लिने गरेको सेवाग्राहीको आरोप छ । यसबारे सम्बन्धित निकायले चासो नदिएको फारम भर्न आएका खार्मी–९ का चन्द्रशेर राईले बताउनुभयो ।
व्यवसायीले चर्को शुल्क लिने गरेको गुनासो आफूकहाँ समेत आएकाले तत्काल छलफल गरेर मूल्य निर्धारण गर्ने उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष खुसनारायण सैंजूले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हदैसम्म गर्ने व्यवसायीलाई कारबाही समेत गरिनेछ ।’
अध्यक्ष सैंजूका अनुसार यसअघि एक प्रति फारम फोटो समेत खिचेर भरिएमा दुई सय ५० रुपैयाँ शुल्क लिने व्यवस्था थियो । झण्डै दुई वर्षअघि गरिएको उक्त मुल्य निर्धारणमा केही फेरबदल हुने उहाँको भनाइ छ ।
उता, कोठा भाडा वृद्धि भएकाले आफूहरुले पनि शुल्क बढाएको व्यवसायीहरुले बताएका छन् ।