असोज–२९ । खोटाङबासीले उदयपुर र खोटाङको सिमानामा पर्ने सुनकोसीको फोक्सिङटारमा बेलीब्रिज राख्न सडक बिभाग माग गरेका छन् । फोक्सिङटारबाट खोटाङ र उदयपुरतर्फको सडक बनीसकेकाले त्यसलाई जोड्न सुनकोसीमा बेलीब्रिज राख्न जिल्लाबासीले सडक विभागलाई गुहारेका हुन् ।
सभाषद विशाल भट्टराई, पिके राई, पूर्वसभाषद रामकुमार राई, कृषिविज्ञ मदन राई, सशस्त्र प्रहरीका पूर्वमहानीरिक्षक सनतकुमार बस्नेत, खोटाङ सेवा समाज काठकाडौंका अध्यक्ष राकेश राई सम्मिलित टोलीले सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीलाई भेट गरी सडक सञ्जाल बिस्तार गर्न फोक्सिङटारमा तत्काल बेलीब्रिज राख्न आग्रह गरेका छन् । खोटाङ र भोजपुरलाई तराईसँग जोड्ने द्रुत मार्गकारुपमा ढोका खोल्न फोक्सिङटारमा बेलीब्रिज राख्न विभागलाई गुहारिएको टोलीले जनाएको छ ।
पुलको अभावमा हालसम्म जोडिन नसकेको दिक्तेल–गाईघाट सडकलाई जोड्दै जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नकालागि फोक्सिङटारमा बेलीब्रिज सञ्चालन गर्न विभागलाई आग्रह गरिएको सभाषद विशाल भट्टराईले बताउनुभयो । फोक्सिङटारमा बेलीब्रिज राख्न सकिए खोटाङबाट उदयपुरको गाईघाटसम्म सिधा यातायात सेवा सञ्चालनमा आउने छ ।
हाल मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङतर्फको महुरेबाट सुनकोसीको वारीसम्म र सुनकोसी पारी उदयपुरको आँपटारबाट गाईघाटसम्मको सडक बनीसकेको छ । दुबैतर्फ कच्ची सडक बनिसकेको सुनकोसीमा बेलीब्रिज राख्न सकिए खोटाङबाट तराई आवत–जावत गर्ने छोटो बाटो खुल्ने स्थानीयको भनाइ छ ।
घुर्मी–कटारी हुँदै तराई झरिरहेका खोटाङबासी र लेगुवा–धनकुटा हुँदै तराई आउजाउ गर्ने भोजपुरबासीका लागि यो ‘रुट’ छिटो र सहज बन्ने कांग्रेस नेता भूपेन्द्र राईले बताउनुभयो । खोटाङको दक्षिणी गाविस जोड्नेगरी भोजपुरको सिमाबाट निर्माण गरिएको पानधारे–रोक्सिङभञ्ज्याङ–ईन्द्रेणीपोखरी–सिम्पानी–रसुवाघाट क्षेत्रीय सडकलाई तराईसँग जोड्न पनि सुनकोसीको बेलीब्रिज उपयोगी हुने राईको भनाइ छ ।
टोलीले फोक्सिङटारमा तत्काल पक्की पुल निर्माणको काम थाल्न समेत सडक विभागका महानिर्देशक कार्कीको ध्यानाकर्षण गराएका छन् । महानिर्देशक कार्कीले फोक्सिङटारमा मंसिर पहिलो हप्तादेखि बेलीब्रिज सञ्चालनमा ल्याउने र हिउँदबाट पुल निर्माणको काम थाल्ने प्रतिक्रिया दिनुभएको जनाइएको छ । विभागका अनुसार फोक्सिङटारमा निर्माण गरिने पक्की पुलको टेण्डरको काम भइसकेको छ ।
खोटाङबाट तराईसँग जोड्ने मूख्य मार्ग खुलाउनकालागि फोक्सिङटारमा बेलीब्रिज अनिवार्य बनेको खोटाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटा बताउनुभयो । बेलीब्रिज सञ्चालनमा ल्याउन सकिए जयराम–घुर्मी–कटारी हुँदै तराई झर्ने खोटाङबासी र लेगुवा–धनकुटा–धरान हुँदै तराई झर्ने भोजपुरबासी सबैभन्दा बढि लाभान्वित हुने छन् ।