कात्तिक १ । संघीय समाजवादी पार्टी नेपाल खोटाङको अध्यक्षमा सुर्यबहादुर राई चयन हुनुभएको छ । संघीय समाजवादी पार्टी खोटाङको प्रथम जिल्ला सम्मेलनले राईलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।
७१ सदस्यीय समिति रहेको समितिको उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा प्रेमकुमार राई र सहसचिवमा नैनबहादुर कटवाल रहनुभएको छ । “पहिचान सहितको संघीय संविधान, ऐतिहासिक प्रथम खोटाङ जिल्ला सम्मेलनको मुख्य अभियान” भन्ने मूल नाराका शुक्रबार बेलुका सम्पन्न सम्मेलनले धनकुमार राई संयोजकत्वमा ३१ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।
नयाँ नेतृत्व चयनपछि बसेको जिल्ला कार्यसमितिको बैठकले पहिचानको मुद्दालाई अब बन्ने संविधानमा समेट्न दवाव दिने उद्देश्यले गाउँ–गाउँबाट आन्दोलने गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले बहुमतको बलमा पहिचान विरोधी संविधान जारी गर्ने मानसिकतामा रहेकाले दवाव दिन आन्दोलन गर्ने तयारी गरिएको अध्यक्ष राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आन्दोलन जस्तो पनि हुन सक्छ, यसमा जातीय संघसंस्थाको पनि सहभागिता रहनेछ ।’
सदरमुकाम दिक्तेलस्थित जिल्ला विकास समितिको समीक्षालय हलमा भएको सम्मेलनको उद्घाटन संघीय समाजवादी पार्टीका केन्द्रीय महासचिव राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।