कार्तिक –४, खोटाङको च्यास्मीटारमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने छ जनालाई बाटो खनाइएको छ । मादक पदार्थ निषेधित क्षेत्र घोषणा गरिएको च्यास्मीटार–४ दाल्फुमा जाँड रक्सी बनाउने एक जना, खुवाउने एक जना र सेवन गर्ने चार जनालाई गोरेटो बाटो खनाइएको हो । 
निषेधित क्षेत्रमा जाँडरक्सी बनाउने, खुवाउने र खानेलाई सजाय स्वरुप गाउँको गोरेटो बाटो मर्मत गराइएको स्थानीय सिर्जनात्मक एकता युवा समुहका अध्यक्ष रसकुमार राईले जानकारी दिनुभयो । समुहको आव्हानमा गाउँमा आयोजना गरिएको भेलाको निर्णय अनुसार मादक पदार्थ बनाउने, खुवाउने र खानेलाई कारबाही गरिएको समुहले जनाएको छ । उनीहरुलाई सोमबार गाउँकै सेरेम्पाबारीदेखि पांग्रा खोलासम्मको बाटो मर्मत गराइएको राईले बताउनुभयो । 
जाँडरक्सीको प्रयोगबाट हुने व्यक्तिगत तथा सामाजिक हानीनोक्सानीबाट सबैको बचाउ गर्दै गाउँमा कुलत तथा दुव्र्यासनी न्यूनीकरण गर्नकालागि समुहले गाउँमा मादक पदार्थ बिक्री बितरण तथा सेवनमा रोक लगाएको छ । गाउँमा खुलेआम बिक्रीबितरण हुने जाँडरक्सीका कारण समाजमा झै–झगडा, हो–हल्ला तथा सामाजिक बिकृति फैलिन थालेपछि त्यसलाई रोकथाम गर्न गाउँमा मादक पदार्थ निषेधको अभियान थालिएको समुहका सचिव खबिराज राईले बताउनुभयो । युवा समुहले सिमाना तोकेर दाल्फु क्षेत्रभित्र जाँड रक्सी बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाइएको घोषणा गरेको थियो । 
आफ्नो गाउँलाई मदिरा निषेधित क्षेत्र बनाउने उद्धेश्य सहित समुहले गाबिसका राजनैतिक दल, गाबिस, प्रहरी चौकी, स्वास्थ्य चौकी, संघसंस्था, बिद्यालय लगायतको समर्थनमा कुलत बिरुद्धको अभियान थालेको हो ।