रिपिटर टावर मार्फत सदरमुकामबाट प्रशारण गर्न, ईन्टरनेट अनलाईमार्फत संसारभर सुन्न सकिने व्यवस्था गर्न र पुरानो सामाग्री मर्मतका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले देउसीभैलो कार्यक्रमको आयोजना गरिएको रेडियो सञ्चालक समितिका कार्यवाहक अध्यक्ष हरि राजभण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यसका लागि सदरमुकाम दिक्तेलको विभिन्न ठाउँमा तिहार विशेष गीतमा नाचगानको व्यवस्था गरिएको छ, नाचगानमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकार, रेडियोकर्मी, सञ्चालक समितिका पदाधिकारी लगायतको सहभागिता रहेको छ ।’
सदरमुकाम दिक्तेलको हाटडाँडाबाट सुरु गरिएको देउसीभैलो कार्यक्रम भानुचौक, त्रिवेणीचौक, शान्तिटोल, सल्लेरीटोल, भवनगैंरा, पुरानो वेसक्याम्प, संगमपार्क हुँदै रत्नपार्कमा आएर समापन गरिने देउसीभैलो कार्यक्रम संयोजन समितिले जनाएको छ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको दिनबाट उक्त देउसीभैलो कार्यक्रम सुरु गरिएको हो ।
२०६४ सालमा स्थापना भएको उक्त रेडियो स्थापना कालदेखि हालसम्म दिक्तेलको मुडेबाट प्रशारण भइरहेको छ । रेडियो प्रशारणका लागि डेढ घण्टा धाएर स्टेशन पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सदरमुकामबाटै प्रशारणको व्यवस्था गर्न देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो ।
हाल पाँच सय वाट क्षमतामा प्रशारण भइरहेको उक्त रेडियो दैनिक साँढे ११ घण्टा प्रशारण हुँदै आएको छ । सदरमुकामबाटै प्रशारण हुन थालेपछि समय समेत थपिने स्टेशन मेनेजर टंक थापाले बताउनुभयो ।