घरायसी विवादमा राईका श्रीमती राधिका राईले आइतबार खुकुरी प्रहार गर्दा मृत्यु भएको जानकारीपछि प्रहरीले बुधबार शव उत्खनन् गरेको स्थानीयले जनाएका छन् । दाह संस्कार गरिएको राईको शव उत्खनन्पछि चेकजाँच गर्दा घाँटीमा खुकुरीको चोट देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हत्या गरेको थाहा पाएपछि टोली परिचालन गरेर शव उत्खनन् गर्दा घाँटीमा चोट रहेछ ।’
श्रीमानको हत्या गरेको खुलासा भएपछि प्रहरीले राधिकालाई बुधबारै नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकी उनले आफैले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
आइतबार बेलुका श्रीमानलाई खुकुरी प्रहारगरी हत्या गरेपछि सोमबार बिहान आफैले मृत घोषणा गरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार जीतमानको शव सोमबार दाह संस्कार गरिएको थियो ।
मृत राईको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदै छ । हत्यामा संलग्न राधिकालाई इलाका प्रहरी कार्यालय बाक्सिला हुँदै बिहीबार जिल्ला प्रहरी कार्यालय ल्याइने प्रहरीले जनाएको छ ।