खोटाङ, साउन ८– खोटाङको त्रि–धार्मिकस्थल हलेसीको आम्दानीलाई संयुक्त चल्ती खातामा जम्मा गरेर सञ्चालन गर्ने निर्णय गरिएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा आउने बाह्य तथा आन्तरिक पर्यटकले चढाएका भेटीघाटीको हिसाव–कितावलाई पारदर्शी राख्नका लागि हलेसी तुवाचुङ नगरपालिकाको पहलमा त्रि–पक्षीय चल्ती खाता सञ्चालन गर्ने निर्णय गरिएको मेयर इवन राईले बताउनुभयो ।
मंगलबार हलेसीमा भएको बैठकले हलेसीको मन्दीरको आम्दानीलाई चुस्तदुरुस्त र पारदर्शीरुपमा संकलन गर्दै हलेसीकै पर्यटन प्रवद्र्धन गर्नका लागि उपयोग गर्न नगरपालिकाका एक जना, हलेसी महादेबस्थान बिकास समितिका एक जना र हलेसी मन्दीर व्यवस्थापन समितिका एक जना प्रतिनिधिको संयुक्तदस्तखतबाट सञ्चालन हुने चल्ती खाता खोल्ने निर्णय गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानमा पर्ने हलेसीको आम्दानीलाई स्थानीय तहको मातहतमा ल्याएर मन्दीरकै व्यवस्थापन, परिचालन र बिकासमा खर्च गर्नेगरी संयुक्त चल्ती खाता सञ्चालन गर्ने निर्णय गरिएको हो ।
गुरुयोजना लागू गर्दै हलेसीलाई आर्थिक केन्द्रकारुपमा बिकास गर्नका लागि समेत साझा सहमती कायम गरेर आम्दानी व्यवस्थापनको काम अघि बढाइएको हलेसी महादेबस्थान बिकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताउनुभयो । हलेसीको पर्यटन प्रवद्र्धनका लागि बैठकले १४ बुँदे निर्णय गरेको छ ।