कात्तिक–१६ । भीरबाट हाम फालेर खोटाङमा एक महिलाले आत्महत्या गरेकी छन् । च्यास्मिटार–३ सार्पाकी २६ वर्षीया रीता राईले भीरबाट हाम फालेर आत्महत्या गरेकी हुन् ।

‘माइती जान्छु’ भन्दै बिहिबार घरबाट हिँडेकी रीताले शुक्रबार भीरबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । माइती जान्छु भन्दै हिँडेकी रीता माइती नपुगेको थाहा पाएपछि खोजी गर्नेक्रममा धितुङको राती सामुदायिक वनमा भेटिएकी उनलाई घर फर्काउनेक्रममा भीरबाट हाम फालेर उनले आत्महत्या गरेको जनाइएको छ ।

गाउँमा दश हजार ऋण काढेर माइती हिँडेकी रीताले हात्महत्या गर्नुको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

मृत रीताको शव परीक्षणका लागि आईतबार जिल्ला अस्पताल खोटाङ ल्याइएको छ । राईका श्रीमान दुई वर्षदेखि विदेशमा रहेका छन् भने, घरमा एक छोरा छन् ।