खोटाङ, कार्तिक १८ । खोटाङको पश्चिमी गाबिस च्यास्मीटार–४ दाल्फुलाई जुवातास निषेधित क्षेत्र घोषणा गरिएको छ । विद्यालय जाने उमेरका बालकहरु समेत दिनभर तासमा झुम्मिन थालेपछि स्थानीय सिर्जनात्मक एकता युवा समुहले गाउँलाई जुवातास निषेधित क्षेत्र घोषणा गरेको हो ।

गाउँको आर्थिक तथा सामाजिक वाताबरणमा खलल पु¥याएकाले गाउँमा जुवा र तास खेल्न रोक लगाइएको समुहका अध्यक्ष रसकुमार राईले जानकारी दिनुभयो । ‘गाउँमा तास खेल्ने, रमिता हेर्ने र त्यसको सिको गर्ने केटाकेटीहरु बढे,’ अध्यक्ष राईले भन्नुभयो, ‘जुवातासबाट हुने समय र सम्पत्तीको क्षती कम गर्नकालागि जुवातास निषेध गरिएको हो ।’

जुवातास खेल्ने श्रीमानको प्रबृत्तिका कारण महिलालाई घर धान्न र आफ्ना बालबच्चाहरुलाई शिक्षा–दिक्षा दिन समेत समस्या पर्न थालेपछि जुवातास बिरुद्धको अभियान थालिएको समुहका सचिव खबिराज राईले बताउनुभयो । भेलाको आयोजना गरी जुवातास नखेल्न र खेल्न नदिन आग्रह गरेको समुहले गाउँका सबैको लिखित प्रतिबद्धता समेत संकलन गरेको छ ।

समुहको अनुरोध बिपरित जुवातास खेल्नेलाई पहिलो पल्ट भए प्रतिव्यक्ती पाँच सय, दोश्रो पल्ट भए एक हजार र पटक–पटक नियम उल्लंघन गर्नेलाई सामाजिक बहिस्कार गरिने समुहले जनाएको छ ।