खोटाङ, कार्तिक २४ । खोटाङ सदरमुकाम दिक्तेलमा किराती मिथकमा आधारित ऐतिहासिक चलचित्र ‘बिनायो’को च्यारिटि शोको तयारी गरिएको छ ।

किरात राई यायोक्खा, किरात राई विद्यार्थी संघ, किरात राई कर्मचारी मञ्च र किरात राई साँस्कृतिक कलाकार संघको सह–आयोजनामा बिनायोको च्यारिटि शोको तयारी गरिएको हो । प्राचिन किरात समुदायको ऐतिहासिक पृष्ठभूमीलाई आधार बनाएर निर्माण गरिएको बिनायोको ‘च्यारिटि शो’ आगामी मंसिर–२६ र २७ गते सदरमुकाम दिक्तेलस्थित मुभील्याण्ड हाइभिजन हलमा गर्ने तयारी गरिएको किरात राई यायोक्खा खोटाङका सचिब यूगसन किरातले जानकारी दिनुभयो ।

लोपोन्मुख बन्दैगएको साकेला शिलीको संरक्षणका लागि आवश्यक कोष खडा गर्न च्यारिटि शोको आयोजना गरिएको यायोक्खाले जनाएको छ । संगीतकार जितेन राईको कथा, परिकल्पना र संगीत एबं रोशन राईको निर्देशनमा बनेको चलचित्रमा सन्ध्या सामपाङ, एलिसा सामपाङ, कपिल वान्तवा लगायतका नयाँ कलाकारहरुको अभिनय हेर्न सकिन्छ । बिनायोको अधिकांश दृश्य खोटाङमै छायांकन गरिएका छन् ।

खोटाङको खार्मी गाबिसको सोतीबाट छायांकन सुरु गरिएको बिनायोमा किरातीको आदिम पुर्खा मानिने तायामा खियामा (दिदी बहिनी) र हेच्छाकुप्पा (भाई) को मिथकलाई उतारिएको छ । किरात समुदायमा तायामा खियामा र हेच्छाकुप्पालाई किरात समुदायको आदिम पुर्खा मानेर पुज्ने प्रचलन छ ।

किरात ऐतिहासिक पृष्ठभूमीकासाथै जिल्लाको पर्यटन प्रबर्धनमा टेवा पु¥याउने उद्धेश्यले निर्माण गरिएको चलचित्रको छायांकन खोटाङको तुवाचुङ, ताप खोला, रावा खोला, रुपाकोट लगायतका किरात गाउँबस्तीमा रहेका पर्यटकीय एबं ऐतिहासिक स्थल, राजधानी काठमाडौं लगायका स्थानमा गरिएको थियो ।