कात्तिक–२८ । विदेशमा बुबाको निधनसँगै आमाले छाडेर गएपछि बिचल्लीमा परेका खोटाङका छ बालबालिकाको लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ ।
वैदेशिक रोजगारीको सिलसिलामा बुबाले विदेशमै ज्यान गुमाउना साथ आमा अर्कैसँग पोइल हिँडेपछि वृद्ध बाजेसहित छ बालबालिकाको बिचल्ली भएको खबर हाम्रो खोटांग डटकम लगायत मिडियामा प्रकाशन भएपछि देश तथा विदेशमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग जुट्न थालेको हो ।
आमाबुबा दुवै गुमेपछि बिचल्लीमा परेका बालबालिकाका लागि संकलित आर्थिक सहयोग आफन्तलाई हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघ खोटाङका सहसचिव केदार मगर । |
जिल्लाको दक्षिणी गाविस मौवाबोटे–५ सार्पाका भीम भनिने होमबहादुर राईको तीन वर्षअघि विदेशमा ज्यान जानासाथ उनकी श्रीमती हिरा पोइल गएपछि बिचल्लीमा परेका उनका ७३ वर्षीय बुबा लालबहादुर राई, १४ वर्षीया छोरी जुना, १२ वर्षीय छोरा सुदिप, दश वर्षीय छोरा सुनिल, नौं वर्षीय छोरी मुना, आठ वर्षीय छोरा निखिल र छ वर्षीया छोरी पुजना राईको जीवनयापन तथा शिक्षा दिक्षाका लागि आर्थिक सहयोग गरिएको सहयोगदाताहरुले बताएका छन् । उनीहरुका लागि हालसम्म दुई लाख १८ हजार दुई सय ८७ रुपैयाँ संकलन भइसकेको जिल्लामा समन्वय गरीरहेको किरात राई यायोख्खा खोटाङका सचिव तथा आर्थिक सहयोग संकलन समितिका संयोजक युगशन किरातीले जानकारी दिनुभयो ।
संकलित रकम किरात राई यायोख्खाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ भने, तीन बालबालिकालाई लालनपालन तथा शिक्षादिक्षाका लागि दुई समाजसेवीको जिम्मा लगाइएको छ ।
जेठा छोरा सुदिप र माइली छोरी मुनालाई नुनथलाका–२ का समाजसेवी तेजबहादुर राईले उच्च शिक्षासम्म अध्यापन गराइ दिने शर्तमा उनका प्रतिनिधि मणी थुलुङले जिम्मा लिनुभएको छ भने, कृषि विज्ञ मदन राईको शुभम् फाउण्डेशनमा अध्यापन गराउन माइला छोरा सुनिललाई फाउण्डेशनका निर्देशक सुर्यबहादुर राईले जिम्मा लिनुभएको छ । बाँकी तीन जनामध्ये कान्छा छोरा निखिल मावली बस्ने भएका छन् भने, जेठी छोरी जुना र कान्छी पुजना बाजेसँग बस्ने भएका छन् ।
आमाबुबा दुवै गुमेपछि बिचल्लीमा परेका बालबालिकालाई लालनपालन र शिक्षादिक्षाका लागि जिम्मा लिँदै तेज राईका प्रतिनिधि मणी थुलुङ र शुभम् फाउण्डेशनका निर्देशक सुर्य राई । |
छ बालबालिकाको बिचल्ली भएको खबर सार्वजनिक हुनासाथ अन्य धेरै व्यक्तिहरुले उक्त बालबच्चालाई पालनपोषण तथा शिक्षादिक्षा दिलाइ दिने बताएका थिए । कोरियन राजदुताबासमा कार्यरत धरानका अमृत राईले दुई जना, काठमाडौंका भीमबहादुर थापा र वुद्धि तिवारीले दुई–दुई जनालाई पठनपाठन तथा लालनपालन गरीदिने फोनमार्फत बताउनुभएको थियो ।
बालबालिकाको आफन्तले नदिने भएपछि उनीहरुको शिक्षादिक्षाका लागि हङकङबाट भोजपुरका किरण राईको संयोजनमा एक लाख ८२ हजार चार सय ३५, दुवईबाट मोरङकी चन्द्रकला र उहाँको श्रीमान धनबहादुर साम्पाङले दश हजार ५० रुपैयाँ, ओमानबाट रामेछापका गुमानसिं सुनुवारको संयोजनमा पाँच हजार एक सय ३५, मलेसियामा कार्यरत खोटाङ नुनथलाका चिसाङ शेर्पाले पाँच हजार एक सय ४२, बाम्राङ चुप्लाका विश्वचन्द्र राईबाट पाँच हजार, दुवाईमा कार्यरत मोरङ बयरवनका कमल रोकाले दुई हजार पाँच सय २५ र खोटाङ बाम्राङका प्रकाश राईबाट पाँच हजार रुपैयाँ रकम जम्मा भइसकेको छ । शेर्पा र रोकाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका सहसचिव केदार मगरको नाममा आईएमई मार्फत पठाउनुभएको थियो भने, अन्य ठाउँबाट प्राप्त सहयोग रकम किरात राई यायोख्खा खोटाङको नाममा राष्ट्रिय बाणिज्य बैंकमा रहेको चल्ती खाता नम्बर–२०६०००४१६५०१ मा जम्मा भएको थियो ।
शेर्पा र रोकाले पठाउनुभएको रकम बिहीबार भएको कार्यक्रममा बालबालिकाका आफन्त प्रेमबहादुर राईलाई हस्तान्तरण गरिएको छ भने, बैंकमा जम्मा भएको रकममध्ये दश हजार पनि हस्तान्तरण गरिएको छ । उक्त रकम तत्कालका लागि व्यवस्थापन खर्च उपलब्ध गराइएको समितिले जनाएको छ ।
अन्य रकम अक्षयकोष खडा गरेर जम्मा गरिने र बैंकबाट आउने ब्याज तीन–तीन महिनामा बालबालिकाको आफन्तलाई बोलाएर प्रदान गरिने जनाइएको छ । यसका लागि सालपा विकास बैंकमा अक्षयकोषको खाता खोलिन संयोजक किरातीले जानकारी दिनुभयो ।
यसअघि जिल्ला बालकल्याण समिति खोटाङले पनि पाँच हजार रुपैयाँ सहयोग गरेको थियो । थप सहयोग होस भन्ने उद्देश्यका साथ सालपा विकास बैंकमा चल्ती खाता समेत खोलिने सहयोग संकलन समितिका सदस्य तथा किरात राई यायोक्खाका जिल्ला उपाध्यक्ष अञ्जना राईले जानकारी दिनुभयो । राईका अनुसार उक्त बालबालिकाको लागि पाँच लाख बढि आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ ।
इजरायल, दक्षिण कोरिया, अष्टे«लिया, मलेसिया, कतार लगायतका देशमा रहेका नेपालीहरुबाट समेत आर्थिक सहयोग संकलन भइरहेको जनाइएको छ । ईन्द्र नाराथुङ्गेको संयोजनमा मलेसियामा कार्यरत नेपालीहरुबाट एक लाख ४० हजार जम्मा भएको जनाइएको छ ।
कार्यक्रमका वक्ताहरुले बिचल्लीमा परेका बालबालिकाको उज्वल भविष्यको कामना गरेका छन् । किरात राई यायोख्खाका जिल्ला अध्यक्ष प्रश्नराज राईको सभापतित्व तथा सालपा विकास बैंकका प्रबन्ध/निर्देशक ईश्वरमान राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैंर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
यो पनि पढ्नुहोस्