कात्तिक–३० । खोटाङ जिल्लामा सिताके च्याउको खेती गर्ने कृषकको संख्या बृद्धि हुँदै गएको छ । जिल्लामै पहिलोपल्ट सिताके च्याउको खेती सुरु गरेका दिक्तेलका कृषक गंगाबहादुर विश्वकर्माको सिको गर्ने किसानको संख्या बढेको हो ।
कृषि प्रविधि तालिम केन्द्र काठमाडौंबाट बीउ ल्याएर वर्ष दिन अघिदेखि सिताके च्याउ खेती सुरु गरेका विश्वकर्मालाई पछ्याउँदै दिक्तेल–६ की देवी राई, बुइपाका राजेन्द्र राई, नेर्पाका चित्र राई, होमकाजी पराजुली, रतन्छाका संग्राम राई, च्यानडाँडाका रघुनन्द राई र खाल्लेका लोकबहादुर मगरले सिताके च्याउ उत्पादन सुरु गरेका छन् । यस्तै, दोर्पा, फेदी र हौंचुरका किसानले पनि सिताके खेती सुरु गरेका छन् । 
काठमाडौंस्थित कृषि प्रविधि तालिम केन्द्रबाट सिताके च्याउ खेती सम्वन्धी तालिम लिएका बिश्वकर्माबाट तालिम लिएर उनीहरुले आ–आफ्नो गाउँमा च्याउ खेती थालेका हुन् । कम मेहनतमै लामो समयसम्म राम्रो आम्दानी दिने भएकाले जिल्लामा सिताके च्याउ खेती गर्ने किसानको संख्या बढ्दो रहेको विश्वकर्माले बताउनुभयो । 
एक पटक बीउ लगाएपछि तीन वर्षसम्म उत्पादन हुने सिताके च्याउ अँध्यारो र सेपिलो कोठामा उत्तिस, पात्ले, लाँकुरीको मुढाको टुक्रा राखेर उत्पादन गरिन्छ । प्रायः मंसिरदेखि फागुनभित्र बीउ लगाउनुपर्ने सिताके च्याउ तीन वर्षमा प्रतिमुढा पाँच–सात केजीको मात्रामा उत्पादन हुन्छ । हाड सम्बन्धीका रोग रोकथामका लागि आवश्यक पर्ने तत्व प्रशस्त मात्रामा पाइने सिताके च्याउ मधुमेह, उच्च तथा न्यून रक्तचाप, रक्तनलीमा हुने समस्यका लागि पनि उपयोगी मानिन्छ । 
सिताके च्याउ सदरमुकाम दिक्तेल र स्थानीयबजारमा प्रतिकेजी एक हजारका दरले बिक्री हुने गरेको छ । ग्राहकको माग अनुसार उत्पादन गर्न नसकिएको कृषकहरुको भनाइ छ ।