टेनिस रोका
मंसिर १ । रोजगारीका क्रममा मलेसिया पुगेका नेपालीहरु अलपत्र पर्नु, काममा ठगिनु तथा आपत विपतमा पर्दा बिचल्ली हुनुमा मेनपवारसँगै  दुतावासको पनि खोट देखिएको छ ।

नेपाली कामदारहरु बिचल्लीमा परेर दुतावासलाई गुहार गर्दा दुतावासले चासो नै नदिई टार्ने गरेको पाइएको छ । फोन सम्पर्क मार्फत आफ्ना गुनासा सुनाउँदा चासो नै नदिएको तथा दुतावासमा नै पुगेर समस्या सुनाउँदा समेत बेवास्ता गरेको पीडितले गुनासो गरेका छन् ।

पीडित नेपाली कामदारहरुका समस्या सुन्न नै नचाहनु, सुनेर पनि बेवास्ता गर्नु, कानुनी सहायताका लागि पहल नै नगरिदिनु तथा बिचल्लीमा परेका नेपाली भएको ठाउँसम्म पुगेर उद्धार गर्न पनि हिचकिचाउनुले समस्यामा परेका नेपालीहरु थप समस्यामा पर्ने गरेका छन् । दुतावासमा आएकालाई उचित परामर्श तथा सल्लाह नदिई हामी केही गर्न सक्दिनौं भनेर टार्ने गरेकाले पनि नेपालीहरु थप समस्या परेको पाइएको छ ।
मलेसियाको एलवाई फर्निचर कम्पनीमा २ वर्ष अघि पुगेका खोटांगका गुणराज थापालाई दुतावासले बेवास्ता गरेको पाइएको छ । ४ महिनादेखि बिरामी परेर कोठामै थलिएका थापाले दुतावासमा फोन गर्दा बेवास्ता गरेको उनले बताए । दुतावासमा नै पुगेर नेपाल फर्काईदिन गुहार माग्दा समेत उनलाई उल्टै आफैं पैसा तिरेर जा भनेपछि उनी झन् समस्या परेको उनको उनको भनाई छ । ‘ बिरामी भएर उठ्न सकेको थिइन् कम्पनीले पनि नेपाल फर्कन दिएन, दुतावासमा फोन गरेर मलाई निकालीदिनु भन्दा आफैं यहाँ आउनुहोस् भने’ थापाले आफ्नो गुनासो सुनाउँदै भने,- ‘साथीसँग सय रुपैयाँ तिरेर दुतावास जाँदा पनि दुतावासले पैसा तिरेर जानु सित्तैमा पठाउन सक्दिनौं भने भनेर फर्काईदिए ।
त्यसपछि मर्नु भन्दा नेपाल जान्छु भनेर साथीभाईसँग पैसा ऋण मागेको उनको भनाई छ । साथीहरुले ऋण दिएपछि थापा हाल भने उनी साथीभाईसँग ऋण खोजेर स्वदेश फर्की भक्तपुरको मध्यठिमी अस्पतालमा उपचार गराईरहेका छन् ।
मलेसियाको पुत्रा हस्पिटलले हेल्थ अनफिट देखाउँदै स्वदेश फर्किन भनेको अवस्थामा समेत कम्पनीले उनलाई नेपाल फर्किन नदिए पछि उनी दुतावासको शरणमा पुगेका थिए । अस्वस्थ व्यक्तिलाई कम्पनीले उपचार गराउनु पर्ने अर्थात नेपाल फर्कादिनु पर्ने व्यवस्था हुँदा समेत दुतावासले भने उचित सल्लाह तथा परामर्श दिनुको सट्टा आफैं पैसा तिरेर जाँ भन्नुमा दुतावासको खोट देखिएको छ ।
नेपालीहरु कुनै ठाउँमा बिचल्लीमा पर्दा उक्त ठाउँमा दुतावासका कर्मचारी नै नजाने गरेको, समस्यामा परेका नेपालीका गुनासा सुन्ने नगरेको तथा समस्या लिएर दुतावास पुगेका नेपालीलाई समेत समस्या समाधानतर्फ नलाग्ने गरेको पाइएको हो ।
काठमाडौंको सामाखुसीस्थित लिंकस्टार मेनपावरबाट गएका उनलाई मेनपावरले समेत ठगी गरेको पाइएको छ । सुरुमा लिप जीई कम्पनीमा भनेर पुर्याए पनि ९ दिनसम्म अलपत्र पारेको उनले बताए । ९ दिनसम्म जेलमा बस्न बाध्य भएको समेत उने बताए । थापाले बिरामी परेपछि मेनपावरमा सम्पर्क गर्दा समेत आफ्नो पठाउने काम भएको भन्दै निकाल्ने काम नभएको जवाफ दिएर मेनपावर जिम्मेवारीबाट टाढिएको थियो । कुनै पनि कामदार विदेशमा अनफिट भएमा कम्पनीलाई भनेर स्वदेश फर्काउने विषयमा मेनवापर समेत जवाफदेही हुनुपर्नेमा लिंकस्टार मेनवापर भने जिम्मेवारीबाट पन्छिएको हो ।
थापाले मलेसियाको एलवाई फर्निचर कम्पनीमा थुप्रै नेपाली अलपत्र परेको जानकारी दिँदै सो कम्पनीमा अन्य नेपालीलाई नजान सुझाव समेत दिएका छन् ।
नेपालीबाटै ठगिन्छन् नेपाली
पछिल्लो पटक वैदेशिक रोजगारीका क्रममा त्यहाँ पुगेका नेपालीहरु बिचल्लीमा पर्नुमा नेपालीले नै ठग्ने गरेको पनि पाइएको छ । कम्पनीमा मालिकसँग मिलेर तल्लो स्तरका कामदारलाई पेलानमा राख्ने गरेको पाइएको छ । केही गरेमा मालिकलाई नेपालीलै नै पोल लगाएर अन्य कामदारलाई बढी काममा घटाउने तथा मानसिक तथा भौतिक दबाबमा राख्ने गरेको मलेसियामा काम गर्ने नेपालीहरु बताउँछन् ।
एलवाई  फर्निचरमा लगभग ८ सय नेपाली कामदार रहेकामा कतिपय नेपाली बिरामी पर्दा समेत नेपाल आउन चाहँदा पनि नपाएको त्यहाँ कार्यरत एक नेपालीले बताए । दुतावाससम्म जाँदा नेपालीले नै मालिकलाई पोल लगाईदिने भएपछि त्रासले पनि त्यहाँ बिरामी पर्दा समेत थलिएर बस्नु परिरहेको उनले जानकारी दिए । अन्य कम्पनीहरुमा पनि अवस्था यस्तै रहेको पाइएको छ ।
यसैगरी, दुतावासमा नेपाल फर्कन जाने क्रममा पनि नेपालीले नै ठग्ने गरेको पाइएको छ । दुतावासमा सिँधै जाँदा लागत रकम मात्रै तिर्नुपर्ने भएपनि नेपाली दलालहरुले काम बन्दैन, ढिला हुन्छ भन्ने जस्ता त्रास देखाएर बढी रकम असुल गर्ने गरेको पाइएको छ । त्यस व्यक्तिहरु त्यहाँ होटल गरेर बस्ने गरेको पाइएको छ ।