सार्वजनिक अपिल बाचन गर्दै नेकपा माओवादी नेता देबीप्रसाद रिजाल ।

खोटाङ, मंसिर १ । खोटाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नका लागि ‘सबै किसिमका पहल कदमी चाल्न’ सार्वजनिक अपिल गरिएको छ ।

आगामी चैत्र मसान्तभित्र जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्नका लागि जिल्लाका सबै राजनैतिक दल, सबै सरकारी कार्यालय तथा गैर–सरकारी संघसंस्था, सबै पेशागत संघसंगठन, शैक्षिक संस्था, स्वास्थ्य संस्था, नागरिक समाज, कर्मचारी, बुद्धिजिबी, समाजसेबी, आमा समुह, पत्रकार लगायतले ‘सम्भव भएसम्मका सकरात्मक र रचनात्मक प्रयास गर्न’ सार्वजनिक अपिल गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा सोमबार भएको सर्वदलीय–सर्वपक्षीय बैठकमा नेकपा माओबादीका नेता देबीप्रसाद रिजालले सबै सरोकारवालाको तर्फबाट विज्ञाप्ती बाचन गरी सार्वजनिक अपिल गर्नुभएको छ ।

आगामी पाँच महिनाभित्र जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्नका लागि चर्पी निर्माण र यसको उपयोग ‘जबरजस्त अनिवार्य’ भइसकेको भन्दै सबै सरोकारवाला पक्षले सामुहिकरुपमा सार्वजनिक अपिल गरेको बताएका छन् । आगामी चैत्रसम्ममा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न गरिएको घोषणा र प्रतिबद्धता पूरा गर्नका लागि सबैको सकरात्मक प्रयास अनिवार्य बनेको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो ।

खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय खोटाङका प्रमुख देवेन्द्रकुमार झाका अनुशार जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने वाताबरण तयार गर्नकालागि संयुक्तरुपमा सार्वजनिक अपिल गरिएको हो ।
७२ गाबिस र एक नगरपालिका रहेको खोटाङका ४२ हजार ६४७ घरधुरीमध्ये अझै १५ हजार ६३० घरधुरीमा चर्पी निर्माण गर्न बाँकी रहेको खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयले जनाएको छ । हालसम्म जिल्लाको नुनथला, जालपा, बाकाचोल, दिप्सुङ, खिदिमा, हौंचुर, नेर्पा र लफ्याङ गाबिस खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेका छन् ।