मंसिर १ ।  राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट खोटाङका तीन किसान पुरस्कृत भएका छन् । 
व्यवसायीकरुपमा कृषि पेशा अपनाएर जिल्लाको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान दिएकामा बाहुनीडाँडा–२ का कृषक फौदसिं कार्की, याम्खा–५ का रामनिधि आचार्य र दिक्तेल नगरपालिका–११ की सरला राई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । 
जिल्ला कृषि बिकास कार्यालय खोटाङले ३४ औं बिश्व खाद्य दिवसको अवशर पारेर आईतबार उत्कृष्ट कृषकहरुलाई जनही १० हजार रुपैयाँ र सम्मानपत्रका साथमा पुरस्कृत गरेको हो । पुरस्कृत कृषकलाई प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले नगद र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
 व्यवसायीकरुपमा कृषि व्यवसाय अपनाएर जिल्लाका अन्य किसानलाई पनि कृषि क्षेत्रप्रति उत्साहित गराएका कारण उत्कृष्ट किसानलाई छनौट गरी पुरस्कृत गरिएको कृषि बिकास कार्यालय खोटाङका बरिष्ठ कृषि बिकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । पुरस्कृत किसानहरु एक दशक अघिदेखि व्यवसायीकरुपमा कृषि व्यवसाय अपनाएर गाउँमै राम्रो आम्दानी गरिरहेका छन् । कार्कीको जिष्ट कृषि फार्म सञ्चालित छ, भने आचार्यको आरआरएमडी कृषि फर्म र राईको कृषि फर्म दर्ताको तयारीमा छ । 
यस्तै, कृषि कार्यक्रमलाई प्रभावकारी बनाउन योगदान पु¥याएकामा खोटाङखबर साप्ताहिक र रुपाकोट सामुदायीक रेडियो पनि पुरस्कृत भएका छन् । कृषि कार्यक्रम एबं यसका गतिबिधिलाई प्रचार प्रसार गर्दै कृषि कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याएकामा खोटाङखबर र रुपाकोट रेडियोलाई क्षेत्रीय कृषि निर्देशनालय बिराटनगरले पुरस्कृत गरेको हो । क्षेत्रीय कृषि निर्देशनालयले खोटाङखबरलाई नगद पाँच हजार र रेडियोलाई चार हजारका साथमा प्रशंसापत्र प्रदान गरेको छ । 
यसैबीच, ३४ औं बिश्व खाद्य दिवसको अवशरमा कृषि बिकास कार्यालयले सञ्चालन गरेको अन्तर माबि स्तरिय निबन्ध प्रतियोगीताका बिजेता छात्रछात्रालाई पनि पुरस्कार प्रदान गरिएको छ । निबन्ध प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने पञ्च माबि दिक्तेलका प्रकाश रिजाललाई दुई हजार, दोश्रो स्थान प्राप्त गर्ने सरस्वति उच्च माबिका पुष्पा गजमेरलाई एक हजार पाँच सय, तेश्रो स्थान प्राप्त गर्ने माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका एलिस ढकाललाई एक हजार र शान्त्वना स्थान प्राप्त सरस्वति उच्च माबिका कृतिका दाहाललाई आठ सय र प्रमाणपत्र प्रदान गरिएको छ ।