उजुरी बुझ्नु हुँदै प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा । |
मंसिर ७ । खेलकुद विकास समितिका अध्यक्षमाथि कानूनी कारबाहीको माग गर्दै सितोरियो कराँते संघ खोटाङले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ ।
समितिका अध्यक्ष विनोद उदासले खेलाडिहरुको मनोबल गिराउने काम गरेको भन्दै तत्काल छानविन गरी कानूनी कारबाहीको माग गर्दै आइतबार प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा समक्ष उजुरी दिएको हो ।
प्रशासनमा परेको उजुरीमा अध्यक्ष उदासले खेलाडिहरुलाई ज्यान धम्की दिएको, सदरमुकाम दिक्तेलस्थित खेलकुद विकास समितिको कवर्ड हलमा सुँगुर काटेर जाँडरक्सी र बियरसँग खाएको, तास खेलेको लगायतका आरोप लगाइएको छ । अराजक गतिविधि गर्दै आएका अध्यक्ष उदासलाई सच्चिन पटक–पटक आग्रह गर्दा समेत उल्टै गालीगलौज र ज्यान धम्की दिएको नेपाल सितोरियो कराते संघ खोटाङकोतर्फबाट प्रशासनमा परेको उजुरीमा उल्लेख छ ।
पोशाक लगाएका खेलाडिहरु सहित जिल्ला प्रशासन पुगेका संघका पदाधिकारीले कवर्ड हलमा तास खेलीरहेको र मासुसँग मादक पदार्थ सेवन गरिरहेको दृश्य समेत पेश गरेका छन् । संघका उपाध्यक्ष मिलन कसजुले हस्ताक्षर गर्नुभएको उजुरीमा अध्यक्षको उक्त गतिविधिले आफूहरुको मनोबल गिरेको जनाइएको छ ।
प्रशासनमा परेको उजुरी बुझ्दै प्रजिअ सापकोटाले तत्काल छानविनगरी कारबाहीको प्रक्रिया थाल्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘गतल गतिविध सञ्चालन गर्ने जो कोहीलाई कारबाही हुन्छ ।’
उता, अध्यक्ष उदासले भने कवर्ड हलको मर्मतपछि कामदारको बिदाइका क्रममा भोज मात्र गरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘केही समयअघि सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि आएको रकम उनीहरुले मागेका थिए, नदिएपछि आफूमाथि खनिएको हो ।’
अध्यक्षको निस्कृयताका कारण जिल्लामा खेल क्षेत्रको विकास हुन नसकेको सितोरियो कराँते संघ खोटाङका अध्यक्ष सञ्जय राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अध्यक्ष आफै गलत गतिविधि गरेर हिँडछन्, अनि कसरी खेल क्षेत्रको विकास हुन्छ ?’
जिल्लाका प्रशिक्षकहरु समेत आफ्नो जिम्मेवारीबाट बाहिर रहेको खेलाडिहरुको आरोप छ । उनीहरु भन्छन्, प्रशिक्षकहरु हाजिरी गरेर तलब मात्र बुझ्छन्, यसप्रति कसैको चासो गएको छैन !’