![Hamrokhotang](https://hamrokhotang.com/wp-content/uploads/2020/04/Hamrokhotang-696x418.jpg)
कक्षा कोठामा पढिरहेका विद्यार्थीमा एक्कासी रुने, कराउने र बेहोस भएर ढल्ने समस्या देखिएपछि आगामी मंसिर १५ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो ।
गत बुधबार एकैसाथ सात जना विद्यार्थी बेहोस बनेर ढलेपछि आइतबारसम्मका लागि बन्द गरिएको विद्यालय सोमबारबाट सञ्चालनमा ल्याइएको थियो । विद्यालय सञ्चालनमा आउनासाथ पुनः सोमबार आठ जना विद्यार्थी बेहोस बनेपछि हप्ता दिनको लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक प्रेमकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दैनिकजसो बिरामी हुने विद्यार्थी बढ्दै गएकाले थप अन्य विद्यार्थीमा सर्न नदिन विद्यालय बन्द गरेका हौं ।’
विद्यालयका अनुसार सोमबार थप कक्षा–७ की मिना कार्की बेहोस बनेर ढलेकी छन् भने, गत बुधबार बिरामी हुने विद्यार्थीमा पुनः सोही लक्षण देखिएको छ । गत बुधबार कक्षा–९ मा अध्ययनरत छात्रा भुमा भट्टराई र दीपा कार्की, कक्षा–८ की एलिना कार्की, कक्षा–८ कै छात्र उमेश कार्की, कक्षा–७ की ईन्दिरा भट्टराई र कक्षा–६ की नमिता खत्री बेहोस बनेर ढलेको थियो ।
विद्यालय बन्द गरिएपछि सो विद्यालयमा अध्ययनरत तीन सय विद्यार्थी पठन–पाठनबाट वञ्चित भएका छन् । बेहोस बनेका विद्यार्थीलाई धामीझाँक्री ल्याएर झारफुक गरेपछि होसमा आउने गरेको शिक्षक गोविन्द कटवालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘धामीलाई हेराएपछि बिरामी विद्यार्थीको होस खुल्ने भएकाले विद्यालयमै धामी राख्ने तयारी गरेका छौं ।’
विद्यालयमा अध्ययनरत विद्यार्थीमा मास हिस्टोरिया देखिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर माधव लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो रोग औषधिले नभइ परामर्शले ठीक हुने भएकाले सोही विधि अपनाउन विद्यालयलाई सुझाव दिएका छौं ।’
विद्यार्थीहरु बिरामी भएको खबर सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएपछि जिल्ला अस्पताल खोटाङले डाक्टर पुजन वल्लको नेतृत्वमा तीन सदस्यीय स्वास्थ्यकर्मीको टोली खटाएको थियो । उक्त स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीमा देखा परेको रोग मास हिस्टोरिया भएको जनाएको डाक्टर लम्सालको भनाइ छ ।
यसअघि गत वर्ष पनि खार्मीस्थित कालिका माविका विद्यार्थीमा महिना दिनसम्म यस्तै प्रकृतिको समस्या देखिएको थियो । शिक्षकहरुको परामर्शपछि उक्त समस्या बिस्तारै ठीक भएको प्रधानाध्यापक युद्धबहादुर राईले जानकारी दिनुभएको छ ।