खोटाङ, मंसिर १० । गौरीभीर जीप दुर्घटनापछि खोटाङका यातायात व्यवसायी, चालक र सह–चालकलाई सडक दुर्घटना न्यूनीकरणका बिषयमा प्रशिक्षण दिइएको छ ।
सडक दुर्घटना कम गर्नलागि जिल्ला प्रशासन कार्यालय र यातायात व्यवसायी संघको संयुक्त आयोजनामा मंगलबार यातायात व्यवसायी, चालक र सह–चालकलाई सडक दुर्घटना न्यूनीकरणका बिषयमा प्रशिक्षण चलाइएको हो । आगामी दिनमा जिल्लामा सडक दुर्घटना हुन नदिनका लागि सचेतता अपनाउने पहलस्वरुप ‘एक दिनका लागि यातायात सेवा बन्द गरेर’ प्रशिक्षण चलाइएको यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष गणेशबिक्रम शाहीले बताए ।
सडक दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी, चालक र सह–चालकलाई निर्देशन दिँदै प्रजिअ सापकोटा । |
शुक्रबार हलेसीबाट तिर्थयात्री बोकेर जयरामतर्फ जाँदै गरेको जीप दुर्छिम र बडहरेको सिमामा पर्ने गौरीभिरबाट पल्टिँदा ७ जनाको मृत्यु हुनुकासाथै ८ जना घाइते भएपछि जिल्लामा अन्य यस्ता दुर्घटना हुन नदिन प्रशिक्षण चलाइएको प्रशासनले जनाएको छ । सदरमुकाममा सञ्चालन गरिएको प्रशिक्षणमा जिल्लाभरका यातायात व्यवसायी, चालक र सह–चालकले यातायात सेवा बन्द गरेर सहभागीता जनाएका थिए ।
प्रशिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटा, प्रहरी नायब उपरिक्षक बिनोदराज खरेल, ट्राफिक प्रहरी सहायक निरिक्षक तेजबहादुर बस्नेत लगायतले सहभागीलाई ट्राफिक नियमका बिषयमा जानकारी गराउदै कडाईकासाथ त्यसको पालना गर्न ध्यानाकर्षण गराए ।
प्रमुख जिल्ला अधिकारी सापकोटाले यात्रुलाई एक ठाउँबाट अर्को ठाउँमा सकुशल र सुरक्षित पु¥याउने वाताबरण तयार पार्न यातायात व्यवसायी, चालक र सह–चालकलाई कडा निर्देशन दिए । ‘गाडीको स्टेरिङ समाएपछि संबेदनशील बन्नुस्, आफ्नो हत्केलामा भएको यात्रुको ज्यान जोगाउनु तपाईको दायित्व हो,’ प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, ‘प्रशासन र प्रहरी तपाईहरुको साथमा छ, के अझै पनि ज्यान लिनेगरी गाडी चलाउँछौँ ?’ सापकोटाले छेउमा युवती राखेर, मादक पदार्थ सेवन गरेर, मोबाइलमा कुरा गर्दै सवारी साधन नचलाउन चालक र सह–चालकलाई आग्रह गरे ।
प्रहरी नायब उपरिक्षक खरेलले सडक दुर्घटनाबाट जोगिनका लागि इन्जिनको अवस्था अनिवार्य चेकजाँज गरेर मात्र सवारी साधन चलाउन यातायात व्यावसायीको ध्यानाकर्षण गराए । यस्तै, ट्राफिक प्रहरी सहायक निरिक्षक बस्नेतले सवारी साधनमा सिट क्षमताभन्दा बढि यात्रु नराख्न, हरेक चार–चार घण्टामा बिश्राम गर्न चालक र सह–चालकलाई निर्देशन दिए ।