मंसिर १० ।  प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले गाविस सचिवहरुलाई कम्तिमा १५ दिन गाउँमा गएर काम गर्न आग्रह गर्नुभएको छ । 
 गाविस सचिव हकहित संरक्षण केन्द्र खोटाङको चौथो जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै उहाँले गाविस सचिवहरु गाउँ नजानाले धेरै सेवाग्राहीले दुःख पाएको भन्दै उहाँले जनताको समस्या हल गरीदिन महिनाको कम्तिमा १५ दिन गाउँ गएर काम गर्न आग्रह गर्नुभएको हो । 
गाविस सचिव हकहित संरक्षण केन्द्र खोटाङको चौथो जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा । 
‘खोटाङ्गे सचिवहरुको एकता, कर्तव्यनिष्ठता हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ उद्घाटन भएको अधिबेशनलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले सबै सचिवहरु सदरमुकाम केन्द्रित हुँदा आगामी चैत्र मसान्तसम्ममा खोटाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम समेत प्रभावित हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो महान अभियानलाई सफल पार्न तपाईहरु रुपमा गाउँ जानुपर्छ, त्यसका लागि म गोडा ढोग्न पनि तयार छु ।’ 
गाविस सचिव गाउँ नजाँदा नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाईसराई लगायतका सिफारिस लिने काममा बाधा पुगेको सेवाग्राहीको भनाइ छ । गाउ“मा सचिव नबसेपछि तीन दिन लगाएर सचिव खोज्दै सदरमुकाम धाउनु पर्ने अवस्था रहेको सेवाग्राहीको गुनासो छ । 
गाविस सचिव सदरमुकाममा सम्पर्क कार्यालय खोलेरै बसेपछि सेवाग्राही सदरमुकाम धाउन बाध्य भएका हुन् । सचिवहरुले सदरमुकाममा कार्यालय खोलेरै बसे पनि सम्बन्धित निकायले चासो नदिएको सेवाग्राहीको आरोप छ ।
आफूहरुको जिम्मेवारी धेरै भएकाले गाउँमा भन्दा सदरमुकाम केन्द्रित हुनु परेको सचिवहरुको भनाइ छ । उनीहरु भन्छन्, ‘सबै काम सदरमुकाममै हुन्छ, त्यसैले गाउँ नगएको हो ।’