मंसिर १० । भैंसीले बाली खाएको निहुँमा छिमेकीलाई खुकुरी प्रहार गर्ने खोटाङकी एक महिला पक्राउ परेकी छन् । दोर्पाचिउरीडाँडा–२ की १६ वर्षीया यसोदा चौलागाइँलाई खुकुरी प्रहार गर्ने सोही स्थानकी ५० वर्षीया विष्णाकुमारी राई पक्राउ परेकी हुन् ।
भैंसीले बाली खाएको निहुँमा विवाद भएपछि राईले चौलागाईमाथि मंगलबार साँझ खुकुरी प्रहर गरेको स्थानीयले बताएका छन् । घटना लगत्तै उनलाई प्रहरी चौकी दोर्पाचिउरीडाँडाले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकी उनलाई ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो ।
घाइते चौलागाइँको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि काठमाडौं लैजाने तयारी भईरहेको आफन्तले जनाएको छ । घाइते चौलागाइँको टाउकोमा गहिरो चोट लागेको घाइतेकी काका हरि चौलागाइँले जानकारी दिनुभयो ।