खोटाङ, मंसिर १० । खोटाङमा जिल्लाव्यापी गायन प्रतियोगीता ‘भ्वइस अफ खोटाङ’ हुने भएको छ । गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाहरुको पहिचान, सम्बर्धन र बिकास गर्ने उद्धेश्यकासाथ ‘भ्वइस अफ खोटाङ’को आयोजना गरिएको आयोजक नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले जनाएको छ ।
तीन चरणको अडिसनबाट छनौट गरिने प्रथम, दोश्रो र तेश्रो बिजेतालाई नगद पुरस्काकासाथमा संगीत विद्यालयमा अध्यायन गर्ने र चलचित्रमा गीत गाउने अवश समेत दिइने संघले बुधबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
‘समतामुलक समाज निर्माणका लागि सांगीतिक अभियान’ भन्ने नाराका साथ गर्न लागिएको ‘भ्वइस अफ खोटाङ’को पहिलो चरणको अडिसन मंसिर–२४ गते बाक्सिलाबाट सुरु गरेर पुस–१७ गते सदरमुकाम दिक्तेलमा समापन गरिने संघका सचिव दिपक ठटालले जानकारी दिनुभयो ।
बाक्सिलाबाट सुरु गरिने पहिलो चरणको अडिसन ऐसेलुखर्क, लामीडाँडा, हलेसी, बुईपा, मानेभञ्ज्याङ, सछितापोखरी, खोटाङबजार लगायतका नौ स्थानमा सञ्चालन गरिने छन् । ‘गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभालाई उजागर गर्दै अवशर दिने हाम्रो उद्धेश्य हो,’ संघका अध्यक्ष चर्च बिश्वकर्माले भन्नुभयो, ‘अवशर नपाइरहेका प्रतिभाको सफलताका लागि सही तरिका र सही समय सिर्जना गर्नु हाम्रो दायित्व हो ।’
सदरमुकाम बाहिर सञ्चालन गरिने पहिलो चरणको अडिसन सकिएपछि दोश्रो र तेश्रो अडिसन सदरमुकाम दिक्तेलमा गरिने आयोजकले जनाएको छ ।