तत्कालीन नगर प्रमुख दाहाल अन्यत्र सरुवा भएर गएपछि स्थानीय विकास मन्त्रालयले अर्का नगर प्रमुख नपठाएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रालयमा पठक–पटक खबर गर्दा समेत बेवास्ता गरेकाले यस्तो समस्या भएको हो ।’
नगर प्रमुख नभएपछि कार्यालयको काम त छँदैछ कर्मचारीले तलब खान समेत नपाएको निमित्त प्रमुख अर्जुन खवासले बताउनुभयो । उहाँले भन्नुभयो, ‘योजनाको काम त छँदैछ, समान्य स्टेशनरीको काम समेत प्रभावित भएको छ ।’
नगर प्रमुख नभएपछि निमित्त प्रमुख खवासको नाममा पेश्की रकम निकासा गरेर दशैं तथा तिहारमा सामाजिक सुरक्षा भत्ता बितरण गरिएको थियो । खवासका अनुसार नगर प्रमुख नभएपछि जनताको काम समेत समयमा हुन सकेको छैन ।
गत असार–३१ गते भएको नगर परिषद्ले बिनियोजन गरेको चार करोड १४ लाख रुपैयाँ रकम समेत प्रभावित भएको नेकपा एमाले नगर कमिटि संयोजक गोपाल आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यालय प्रमुख बिहिन हुँदा नगरपालिकामा आएको योजना समयमै सम्पन्न नहुने अवस्था सृजना भएको छ ।’
गत जेठबाट सञ्चालनमा आएको दिक्तेल नगरपालिका नाम मात्रको रहेको सर्वसाधारणको भनाइ छ । उनीहरुका अनुसार नगरपालिकामा नागरिकताको सिफारिस, पञ्जीकरणको काम र कर्मचारीले हाजिर गर्नमा मात्र सिमित रहेको पाइएको छ ।
कार्यालय प्रमुख नभएपछि तलबभत्ता खान नपाउँदा आफ्नो गर्जो टार्न समेत समस्या भएको कर्मचारीहरुको गुनासो छ । उनीहरुले तत्काल कार्यालय प्रमुख तोकेर पठाउनुपर्ने मन्त्रालय समक्ष माग गरेका छन् ।
नगरपालिका सञ्चालनमा आएपनि नगरभित्रका सडक अव्यवस्थित छ भने, ढल, खानेपानी, बजार व्यवस्थापन, सार्वजनिक सौचालय, बसपार्क लगायतका योजनाहरु अलपत्र अवस्थामा छन् । बस पार्क नबन्दा बजार यरियाका घरको पेटीमा सवारी साधान राख्ने गरिएको छ ।