आर्थिक समस्यका कारण स्वास्थ्य उपचारका लागि सुबिधा सम्पन्न अस्पतालसम्म पुग्न नसकेका बिरामीलाई गाउँमै स्वास्थ्य सेवा दिने उद्धेश्यले आयोजना गरिएको निशुल्क स्वास्थ्य शिबिरमा ९८३ सर्वसाधारणले स्वास्थ्य सेवा पाएका छन् । रावाखोला सेरोफेरो यूके समाज र मिसन टु हेल्प नेपालको संयुक्त आयोजना तथा नर्भिक इन्टरनेशनल हस्पिटलको प्राबिधिक सहयोगमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिबिरमा ७१५ महिला र २८६ पुरुषले निशल्क स्वास्थ्य सेवा लिएका छन् ।
निशुल्क स्वास्थ्य शिबिरका लागि बाक्सिला आएका यूके–बाक्सिला हेल्थ क्याम्प प्रोजेक्ट–२०१४ र मिसन टु हेल्प नेपालका प्रमुख तथा प्रतिनिधि एबं नर्भिक इन्टरनेशनल हस्पिटलका स्वास्थ्यकर्मी । |
सोमबार र मंगलबार आयोजना गरिएको शिबिरमा सामान्य स्वास्थ्य जाँचका साथै स्त्री रोग, सामान्य शल्यक्रीय, इसिजी, इण्डोस्कोपी, आँखा, दाँत, ब्याक पेन लगायतका समस्याहरुको उपचार सेवा प्रदान गरिएको शिबिर यूके–बाक्सिला हेल्थ क्याम्प प्रोजेक्ट–२०१४ का महासचिव सप्तराज राईले जानकारी दिनुभयो ।
जिल्लाको उत्तरी क्षेत्रका १५ गाबिसका स्थानीयलाई लक्षीत गर्दै आयोजना गरिएको स्वास्थ्य शिबिरमा सबैभन्दा बढि पाठेघर खसेका महिलाको उपचार गरिएको छ । यस्तै, शिबिरमा मुटुका समस्य भएका बिरामीको संख्या अधिक भेटिएको नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका कार्डियोलोजिष्ट डा. शिवजी सिलवालले बताउनुभयो ।
शिबिरको माध्यमबाट बाक्सिला, दिप्सुङ, राखाबांदेल, ऐसेलुखर्क, सुंदेल, माक्पा, बाँसपानी, खार्ताम्छा, फेदी, पाथेका, खार्मी, जालपा, सप्तेश्वर, दुबेकोल लगायतका गाबिसका सर्वसाधारणले सेवा लिएका स्थानीय शिबिर व्यवस्थापक प्रमुख समिर राईले जानकारी दिनुभयो । शिबिरका अवधिका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले औषधि सहितका बिशेषज्ञ डाक्टर उपलव्ध गराएको थियो । ‘रोगको पहिचान नभएर तथा औषधि नपाएर यस क्षेत्रका सर्वसाधारणले अकालमै ज्यान गुमाइरहनु परेको छ,’ यूके–बाक्सिला हेल्थ क्याम्प प्रोजेक्ट–२०१४ का अध्यक्ष रहेका पुर्वमेजर दिलकुमार राईले भन्नुभयो, ‘जन्माएको, हुर्काएको, बढाएको आफ्नो ठाउँका लागि केही गरौँ भन्ने प्रयास हो यो ।’
हेलीकोप्टरमार्फत बाक्सिला आएका नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका जनरल फिजिसियन डा. बन्दना पाण्डे, कार्डियोलोजिष्ट डा. शिवजी सिलवाल, सर्जन डा. गौरबराज ढकाल, डा. प्रगती थापा लगायतको टोलीले शिबिरमा बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्नुभएको थियो ।
बिरामीको उपचार गर्न आफै संलग्न हुनुभएकी मिसन टु हेल्प नेपालकी अध्यक्ष बबी लामाले शिबिरमा सोचेभन्दा बढि बिरामीको चाप देखिएको बताउनुभयो । नर्भिक अस्पतालको स्थापनाकालकी स्टाफ नर्सकारुपमा काम गरेकी मिसन टु हेल्प नेपालकी अध्यक्ष लामाको समन्वयमा नर्भिक अस्पतालले बिशेषज्ञ डाक्टर र औषधि पठाउन तयार भएको हो । बाक्सिलाको शिबिरमा नर्भिक अस्पतालका महाप्रबन्धक रबि शर्मा समेत आउनुभएको थियो ।
खोटाङको रावा खोला क्षेत्रमा घर भइ हाल बेलायती सेनामा कार्यरत युवाले सन २००७ जुलाई ७ मा स्थापना गरेको रावाखोला सेरोफेरो यूके समाज र स्टाफ नर्स बबी लामा लगायतले सन २०१० मा स्थापना गरेको मिसन टु हेल्प नेपाल नामक च्यारिटी संस्थाले नेपालका बिभिन्न क्षेत्रमा मानव सेवाका काम गर्दैआएका छन् ।