खोटाङ, मंसिर १९ । चिसो बढेसँगै जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोको बिरामीको चाप बढेको छ ।
 जिल्ला अस्पतालमा टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने, रिङ्गटा लाग्ने, घाँटी दुख्ने, झाडापखाला लाग्ने, आँखा पाक्ने, हातखुट्टा झमझमाउने, छाती र शरीर दुख्ने लगायतका लक्षण देखिने भाइरल ज्वरोको बिरामीको चाप बढेको हो । चिसो बढेसँगै मंसिर पहिलो हप्तादेखि दैनिक एक सय ५० जनाको हाराहारीमा बिरामी उपचारका लागि अस्पताल आइरहेको जिल्ला अस्पताल खोटाङका डा. माधवप्रसाद लम्सालले बताउनुभयो । 
डा. लम्सालका अनुशार भाइरल ज्वरोबाट सबैभन्दा बढि बालबालिका र बृद्धबृद्धा बिरामी परेका छन् । अस्पतालमा आएकामध्ये अधिकांश बिरामीलाई बेड भर्ना गरेर उपचार गर्नुपरिरहेको जनाइएको छ । भाइरलका बिरामीको अधिक चाप बढेका कारण अस्पतालमा शैयाको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । शैयाको अभावमा अस्पतालले कतिपय बिरामीहरुलाई भुइँमै राखेर उपचार गर्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । कतिपय नजिकका बिरामीहरु घरबाटै धाउने गरेका छन् भने, कतिपय बिरामीहरु अस्पताल नजिकको होटल तथा आफन्तको कोठामा बसेर उपचार गराइरहेका छन् । १५ शैयाको अस्पतालले हाल २६ शैयाको व्यवस्था मिलाएर उपचार सेवा प्रबाह गर्दैआएको छ । 
भाइरल ज्वरोबाट बच्नका लागि चिसोबाट जोगिन स्वास्थ्यकर्मीको सुझाव छ । भाइरलबाट बच्नका लागि पानी उमालेर प्रयोग गर्न, बच्चा तथा बृद्धबृद्धालाई चिसोबाट जोगाउन, पिरो अमिलो नखान, न्यानो कपडा लगाउन, साँदेको अचार नखान डा. लम्सालले सुझाव दिनुभयो ।