खोटाङ, मंसिर १९ । खोटाङको नुनथलामा बिहीबार बस पल्टिदा सह–चालक सहित चार जना घाईते भएका छन् ।
रेग्मीटारबाट ६ यात्रु लिएर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस बिहिबार साँझ पानीट्यांकी नजिक जंगलमा पल्टिदा खोटाङ सिमपानीका तारा थापा, रतन्छाका मनकाजी राई, सप्तरीका सुनिलकुमार यादव र हलेसीका सह–चालक दिनेश भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।
नियन्त्रण गुमाएर भित्तामा ठोक्किएर बस पल्टिदा यात्रु थापाको टाउको, ढाड र हातमा, राईको निधारमा, यादवको ढाडमा र भुजेलको ढाड र हातमा चोट लागेको घटनास्थलबाट तेन्जिङ शेर्पाले जानकारी दिए । जिल्ला अस्पतालमा ल्याइएका घाइतेहरुको अवस्था खतरामुक्त रहेको शेर्पाको भनाई छ ।
सडकको बीचमा रहेको ढुंगालाई नाघ्न खोज्दा चिप्लिएर नियन्त्रण गुमाएको बस सडकको भीत्तामा ठोक्किएर सडकमै पल्टिएको थियो । बस सडकमै पल्टिएकाले ठूलो मानवीय क्षती हुनबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् । भित्तामा ठोक्किएर सडकै पल्टिएको बसले मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडक अवरुद्ध बनाएको छ । ठोक्किएर पल्टिएको बसको अगाडिपट्टिको शिशा क्षतबिक्षत बनेको छ ।