मंसिर २१ । खोटाङका व्यवसायीहरूले सडक, पुल लगायतका विकासे कार्यक्रम सञ्चालन गर्नु पर्ने भन्दै पाँच बुदे माग राख्दै प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा समक्ष ज्ञापन–पत्र बुझाएका छन् ।
माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी सहित आइतबार प्रमुख जिल्ला अधिकारी सापकोटालाई जिल्ला प्रशासनमा भेटगरी ज्ञापन–पत्र बुझाएका हुन् ।
खोटाङ यातायात संघ, निर्माण व्यवसायी संघ र खोटाङ उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरूद्वारा हस्ताक्षरित संयक्त ज्ञापन–पत्रमा जयरामघाट–हलेसी–दिक्तेल सडक खण्डको काम तत्काल सुरुवात गर्नु पर्ने, जयरामघाटको पक्की पुल चाडो भन्दा चाडो निर्माण सम्पन्न गर्नु पर्ने, फोक्सिङटारमा ब्रेलिबृज चाँडो भन्दा जाँडो जडान गरी यातायात सञ्चालन गर्नु पर्ने, जिल्ला सदरमुकाममा टेलिकमले लाइन बिस्तार गर्दा भत्किएको सडक तत्काल बनाउनु पर्ने, नगरप्रमुख विहीन दिक्तेल नगरपालिकामा तत्काल नगरप्रमुख उपस्थित गराउनु पर्ने लगायतका माग राखेका छन् ।
माग पूरा नभए मङ्सिर–२२ गते कालोपट्टी बाधेर विरोध गर्ने, २३ गते जिविस र नगरपालिका घेराउ गर्ने, २६ गते दिक्तेल बजारमा नाराजुलुस गर्दै विरोध प्रदर्शन गर्ने, २७ गते दुई घण्टा यातायात बन्द गर्ने र २८ गते दिउसोदेखि सम्पूर्ण व्यवसाय ठप्प पर्ने चेतावनी दिएको छ ।
ज्ञापन बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले मागप्रति नेपाल सरकार गम्भिर हुनु पर्ने भन्दै बुझाइएको ज्ञापन सम्वन्धित निकायमा पठाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगर प्रमुख पठाउन आफूले पटक–पटक अनुरोध गरेपनि सुनुवाई भएको छैन, यसले गर्दा ठूलो समस्या भएको कुरा मलाई पनि थाहा छ, त्यसैले सक्दो प्रयास गर्छु ।’
ज्ञापन–पत्रमा यातायात व्यवसायी संघका अध्यक्ष गणेशबहादुर शाही, वाणिज्य संघका अध्यक्ष खुसनारायाण सैंजू र निमार्ण व्यवसायी संघका सचिव कृष्णप्रसाद आचार्यले हस्ताक्षर गर्नुभएको छ । गत जेठबाट सञ्चालनमा आएको दिक्तेल नगरपालिका नाम मात्रको रहेको उनीहरुको आरोप छ । स्रोतका अनुसार नगरपालिकामा नागरिकताको सिफारिस, पञ्जीकरणको काम र कर्मचारीले हाजिर गर्नमा मात्र सिमित रहेको पाइएको छ ।
नगर प्रमुख नभएपछि तलबभत्ता खान नपाउँदा आफ्नो गर्जो टार्न समेत समस्या भएको कर्मचारीहरुको गुनासो छ । उनीहरुले तत्काल नगर प्रमुख तोकेर पठाउनुपर्ने मन्त्रालय समक्ष माग समेत गरेका छन् ।
नगरपालिका सञ्चालनमा आएपनि नगरभित्रका सडक अव्यवस्थित छ भने, ढल, खानेपानी, बजार व्यवस्थापन, सार्वजनिक सौचालय, बसपार्क लगायतका योजनाहरु अलपत्र अवस्थामा छन् । बस पार्क नबन्दा बजार यरियाका सडकमा सवारी साधान राख्ने गरिएको छ ।