मंसिर–२२, वर्षादका कारण गत जेठबाट झिकिएको जयरामघाटको अस्थायी बेलिब्रीज पुनः सञ्चालनमा ल्याइएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दुधकोसी नदीमा लगाइने अस्थायी बेलिब्रीज सोमबारबाट सञ्चालनमा ल्याइएको हो । 
जिल्लाबासीलाई लक्षितगरी जडान गरिएको अस्थायी बेलिब्रीज सोमबार प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले उद्घाटन गर्नुभएको सडक विभागले जनाएको छ । अस्थायी बेलिब्रीज सञ्चालनमा आएपछि सदरमुकाम दिक्तेलबाट हर्कपुरसम्मको सिधा यातायात सेवा समेत सुरु भएको छ । 
दोभान निर्माण सेवाले २७ दशमलव पाँच कम दररेटमा अस्थायी बेलिब्रीज जडानको जिम्मा लिएको थियो । निर्माण सेवाले तोकिएकै समयमा अस्थायी बेलिब्रीज जडानको काम सम्पन्न गरेको निर्माण सेवा कम्पनीका प्रोपाईटर अर्जुनकुमार खड्काले जानकारी दिनुभयो । 
बेलिब्रीज सञ्चालनमा आएपछि जिल्लामा दैनिक उपभोग्यवस्तु ओसार÷पसार गर्न केही सहज भएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुसनारायण सैंजूले जानकारी दिनुभयो । तोकिएको समयमा मोटरेबल पुल बन्न नसकीरहेको अवस्थामा उक्त ठाउँमा अस्थायी बेलिब्रीज सञ्चालनमा ल्याइएको हो ।
हिउँदभर सञ्चालन हुनेगरी जडान गरिएको अस्थायी बेलिब्रीज वर्षा लागेपछि र नदीमा पानीको बहाव बढेसँगै झिकिने र पानीको बहाव घटेपछि पुनः राखिने गरिएको छ । नेपाल सरकारको सडक विभाग अन्तरगत हर्कपुर–ओखलढुङ्गा सडक डिभिजनको आर्थिक सहयोगमा बेलिब्रीज सञ्चालनमा ल्याइएको प्रजिअ सापकोटाले बताउनुभयो । यद्यपि, उक्त ठाउँमा निर्माणधिन मोटरेबल पुल ठेकेदार कम्पनीको लापर्वाहीले समयमा सम्पन्न हुन नसकेको उपभोक्ताको आरोप छ । यसबारे सम्बन्धित निकायमा खबरदारी गर्ने नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिनुभयो ।