मंसिर–२३, खोटाङमा उत्कृष्ठ पाँच कृषक समूह र सात कृषक पुरस्कृत भएका छन् । जिल्लामा विगत चार वर्षको अवधिमा कृषि क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कृषि, वन तथा वातावरण समिति ओख्रेडाँडागाउँ, नेर्पा, फाक्टाङ, राजापानी र दिक्तेल तथा दिक्तेल नगरपालिका–५ का गंगाबहादुर विश्वकर्मा, याम्खा–८ का विरेन्द्र राय, डाँडागाँउ–९ का दुर्गा सिग्देल, दिक्तेल नगरपालिका–४ का नवविक्रम राई, विजयखर्क–८ का थामसरी राई, दुर्छिम–६ का खगेन्द्र राई र याम्खा–५ का रामनिधि आचार्य पुरस्कृत भएका हुन् । 
पुरस्कृत समूह र कृषकलाई नगद दुई/दुई हजारको साथमा प्रमाण–पत्र प्रदान गरिएको दिगो भू–व्यवस्थापन कार्यक्रम एसएसएमपीका जिल्ला कार्यक्रम संयोजक पद्यमकिरण रानाले जानकारी दिनुभयो । दिगो भू–व्यवस्थापन कार्यक्रम एसएसएमपी र तरकारी बीउ आयोजना कार्यक्रमको संयुक्त समापन कार्यक्रमको अवसरमा उनीहरुलाई पुरस्कार वितरण गरिएको हो । 
उत्कृष्ठ पाँच कृषि समूह र सात कृषकलाई पुरस्कार वितरणपछि सामूहिक फोटो खिचाउँदै ।
जिल्ला विकास समितिको समीक्षालय हलमा सम्पन्न कार्यक्रममा उक्त परियोजनाले जिल्लाको कृषि विकासमा महत्वपूर्ण काम गरेको भन्दै पुनः उक्त कार्यक्रम सञ्चालन गरनुपर्ने माग गरेका छन् । जिल्लामा छोटो अवधिमै उक्त दुवै परियोजनाले कृषि क्षेत्रको विकासमा ठूलो सहयोग गरेको भन्दै पुनः सञ्चालन गरिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा राजनीतिक दल, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, साझेदार संस्था, अगुवा कृषक लगायतको उपस्थिति रहेको थियो । गत सन् २०१० देखि जिल्लामा दुवै कार्यक्रम एकैसाथ सञ्चालनमा आएको थियो ।