मंसिर–२५, जिल्लाको दक्षिणी गाविस छितापोखरीस्थित सेल्मे नागरिक सचेतना केन्द्रले चर्पी नबनाउने घरले आयोजना गर्ने भोजमा नजाने निर्णय गरेको छ । आगामी माघ मसान्तभित्र गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गर्ने अभियानलाई सफल पार्न यस्तो निर्णय गरेका हुन् ।
चर्पी बनाउन अटेर गर्ने घरपरिवारलाई बाध्य बनाउन केन्द्रले यस्तो निर्णय गरेको सामाजिक परिचालक रविना सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘घर–घरमा पुगेर चर्पी बनाउन आग्रह गर्दा समेत बेवास्ता गरेपछि केन्द्रले यस्तो निर्णय गरेको हो, निर्णय गरेलगत्तै धेरैले निर्माण कार्य थालीसकेका छन् ।’
छितापोखरी गाविसको वडा नम्बर–४ र ५ लाई समेटेर गठन गरिएको सचेतना केन्द्र्रले यस्तो निर्णय गर्नासाथ घर–घरमा चर्पी निर्माणको काम भइरहेको वडा नम्बर–५ की पास्लाङ्देवि शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुमा चर्पी बनाउनुपर्छ भन्ने ज्ञान थिएन, जब केन्द्र स्थापना भएपछि चर्पीको उपयोगिताको बारेमा थाहा भयो, त्यसपछि अहिले सबैले घर–घरमा चर्पी निर्माण गर्न थालेका हौं ।’ सामाजिक परिचालक सुवेदीका अनुसार उक्त दुई वडामा ६१ घरपरिवार बसोबास गर्छन् । चर्पीको उपयोगिताका बारेमा जानकारी नभएका कारण उनीहरु नजिकैको जङ्गल तथा खोलाखोल्सीमा दिसापिसाप गर्दै आएका छन् ।
जिल्लालाई आगामी चैत्र मसान्तभित्र खुला दिसामुक्त घोषणा गर्ने तयारी गरिएको छ । ७२ गाविस र एक नगरपालिका रहेको खोटाङ जिल्लामा हालसम्म ११ वटा गाविस मात्र खुला दिसामुक्त गाविस घोषित भएका छन् ।
जिल्लाको कतिपय गाविसमा पानीको अभावले अभियान सफल पार्न चुनौति देखिएको छ । जिल्लाको सुख्खाग्रस्त क्षेत्र मानिएका हलेसी क्षेत्रमा यस्तो चुनौति देखिएको हो ।