मंसिर–२५, जिल्ला अस्पताल खोटाङमा उपचार गर्न आउने बिरामीहरुले सबै औषधि खरिद गरेर सेवन गर्ने गरेको पाइएको छ । नेपाल सरकारले जिल्ला अस्पतालमा ७० किसिमको औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरेपनि अस्पताल भर्ना भएर उपचार गराउने बिरामीले सबै औषधि खरिद गरेर सेवन गर्ने गरेको पाइएको हो ।
निःशुल्क वितरण गरिने औषधि जिल्लाको आवश्यकता अनुसार नआएको, औषधि प्रयोग गर्ने अवधि अत्यन्त कम बाँकी रहेको, निःशुल्क पाइने औषधिले रोग निको नभएको र सोही नामको औषधि बाहिर किनेर प्रयोग गर्दा रोग निको भएको तथा औषधिको व्यवस्थापन नभएको पाइएको राष्ट्रिय मानव अधिकार आयोगको एक टोलीले अनुगमनपछि विज्ञप्तीमार्फत जनाएको छ । आयोगका सदस्य प्रकाश वस्ती नेतृत्वको टोलीले अस्पतालको जनशक्ति, साधन–स्रोत, भौतिक अवस्था र प्रबन्ध अत्यन्त कमजोर रहेको ठहर गरेको छ ।
यसबारे अस्पतालमा आउने बिरामीको रोग अनुसार निःशुल्क आउने औषधि नहुने भएकाले बाहिर खरिद गर्नुपर्ने अवस्था रहेको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर माधव लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘१५ शैयाको जिल्ला अस्पताल खोटाङमा सोही अनुसार औषधि आउने र अस्पतालको क्षमताभन्दा बढि बिरामी आउने गरेकाले पनि यस्तो समस्या भएको हो ।’
उता, सामान्यदेखि जटिल किसिमका सबै औषधि खरिद गरेर सेवन गरिरहेको अस्पतालमा उपचाररत बिरामीहरुको भनाइ छ । अस्पतालको बेड नम्बर–७ मा भर्ना भएर उपचार गराइरहुनभएकी दोर्पाचिउरीडाँडा–२ की ५३ वर्षीया रुपलक्षी राईले भन्नुभयो, ‘जुनसुकै औषधि पनि अस्पतालले खरिद गर्न लगाउँछ, चार दिन भयो अस्पताल भर्ना भएको आठ÷दश हजार रुपैयाँ औषधि खरिदमै सकियो ।’
अस्पतालमा औषधि मात्र नभइ भौतिक सुविधा तथा दक्ष जनशक्ति नभएकै कारण सामान्य किसिमका बिरामीले पनि लाखौं रुपैयाँ खर्चेर अन्यत्र जानुपर्ने अवस्था रहेको राप्रपा नेपालका अध्यष जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यातायात सुविधा भरपर्दो नभएका कारण जिल्लाका हजारौं जनताले उपचार खर्चभन्दा यातायात खर्च बढि तिर्नुपर्ने अवस्था छ ।’
अस्पतालको यस्तो अवस्थाका बारे कसैको ध्यान जान नसकेको सेवाग्राहीको आरोप छ । १५ शैयाको जिल्ला अस्पतालमा दशवटा खटिया थपेर उपचार गर्दा समेत बिरामीको अत्यधिक चापका कारण चिसो भुँइमा राखेर उपचार गर्ने गरिएको छ ।